गोर्खा सैनिकको निःस्वार्थ सेवा र बलिदानप्रति राजदूतद्वारा कृतज्ञता

गोर्खा सैनिकको निःस्वार्थ सेवा र बलिदानप्रति राजदूतद्वारा कृतज्ञता



छिमेकी मित्रराष्ट्र भारतको ७४औँ सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले यही फाल्गुन ८ गते एक समारोहको आयोजना गऱ्यो ।

सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्शल) के.एम करियप्पाले पहिलो भारतीय कमाण्डर इन चिफको रूपमा भारतीय सेनाको कमाण्ड सम्हालेको सम्मानमा प्रत्येक वर्ष भारतीय सेना दिवस मनाइँदै आएको दूतावासले जनाएको छ

प्रधानसेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रभुराम शर्मा सो समारोहको प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो । समारोहमा नेपालका पूर्व सेनाप्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कुटनैतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी, थिंक ट्यांकका सदस्य र सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

विनय मोहन क्वात्राले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गर्नुभयो । भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै वहाँले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका तिनका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता दोहो¥याउनुभयो ।

राजदूत क्वात्राले सन् २०२१ डिसेम्बर आठमा हवाई दुर्घटनामा परि श्रीमती मधुलिका रावत र अन्य ११ जना सैनिकसहित दिवंगत हुनुभएका भारतीय सेनाका जनरल विपिन रावतप्रति श्रद्धञ्जली अर्पण गर्नुभयो ।

प्रधानसेनापति महारथी प्रभुराम शर्माले भारतका सेनाध्यक्ष एवम् नेपाली सेनाका मानार्थ महारथी जनरल एमएम नरवणेलाई भारतको ७४औँ सेना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । वहाँले दुई सेनाबीचको गहिरो सम्बन्ध र लामो समयदेखिको सहकार्यबारे चर्चा गर्दै कोभिड–१९ महामारीविरुद्घको लडाइँमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोग र नेपाली सेनाको आधुनिकीकरणमा भारतीय सेनाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

सोही अवसरमा भारतीय सेनाको वीरता पुरस्कारविजेता गोर्खा सैनिकलाई पनि प्रधानसेनापति शर्माले सम्मान गर्नुभएको थियो ।