एमसीसीमा सहयोग गर्न देउवाको आग्रह, माग सम्बोधन नभएसम्म संसदीय प्रक्रियामा प्रवेश नगर्ने केपीको जवाफ

एमसीसीमा सहयोग गर्न देउवाको आग्रह, माग सम्बोधन नभएसम्म संसदीय प्रक्रियामा प्रवेश नगर्ने केपीको जवाफ


प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग एमसीसी अनुमोदनमा सहयोग गर्न आग्रह गरेका छन् ।

मंगलबार साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग प्रधानमन्त्री देउवाले करिब २ घण्टा छलफल गरेका थिए ।

नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार प्रधानमन्त्रीले गठबन्धनभित्रबाट आफूलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि ओलीसँग आग्रह गरेका थिए ।

‘भेटका क्रममा प्रधानमन्त्रीज्यूले हाम्रो पार्टीसमक्ष सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गर्नुभयो’- रिजालको भनाइ छ ।

अध्यक्ष ओलीले चाहिँ आफूहरुको माग सम्बोधन नभएसम्म संसदीय प्रक्रियामा प्रवेश नगर्ने जवाफ दिएका रिजालको भनाइ छ । ‘हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत ६ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ’- नेता रिजालले भने ।

भेटवार्ताामा अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षविष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।