बेल्जियममा सुसी बनाउने तालिम सम्पन्न

बेल्जियममा सुसी बनाउने तालिम सम्पन्न


  • डिल्ली अम्माई, बेल्जियम

बेल्जियममा परम्परागत जापानी खाना बनाउने सुसी रेष्टुरेन्टमा काम गर्नको लागि दक्ष जनाशक्तिको आवश्यकतालाई ध्यानमा राखेर नेपाली व्यबसायी संघ बेल्जियमले सुसी तालिम सम्पन्न गरेको छ ।

यही जनवरी १० तारिक (सोमबार) र १५ तारिक (शनिबार) गरेर दुई समुहमा शुरु गरिएको तालिम अन्तिम रुपमा फेब्रुअरी २१ मा सम्पन्न भएको हो । बेल्जियममा ब्यवसायिक तालिम दिने क्याम्पस सिण्ट्रामार्फत दिइएको प्रशिक्षणबाट तीन दर्जनजति सुसी प्रशिक्षार्थीहरुले दक्षताको प्रमाणपत्र प्राप्त गरेका छन्।

नेपाली ब्यवसायी संघ बेल्जियमका अध्यक्ष यामु निरौलासहित सुसी प्रशिक्षकहरुमार्फत संयुक्त रुपमा तालिम प्राप्त प्रशिक्षार्थीलाई सुसी कुकको प्रमाणपत्र वितरण गरिएको थियो।

बेल्जियमको चर्चित तालिम स्कुल SYNTRA क्याम्पसले दिएको उक्त प्रमाणपत्रलाई काम गर्न तथा ब्यवसाय संचालनको लागि सरकारी स्तरमा समेत मान्यता दिइन्छ।

आयोजकले सुसी तालिमलाई आधारभूत र विशिष्ट गरि दुई भिन्न समूह बनाएर तालिमको व्यवस्था गरेका थिए ।

उक्त तालिममा मुख्य प्रशिक्षकहरुमा एडी भान देन लान्गेन्बर्ख, नारायण चित्रकार र दीपक सुवेदी रहनुभएको थियो । त्यस्तै, आवश्यक विभिन्न सामाग्रीहरु निःशुल्क उपलब्ध गराएर सहयोग गर्नेहरुमा फुड एसिया बेल्जियम, फिस किङ्ग बेल्जियम, जीएन कन्सल्टेन्सी र सुसी ब्यवसायी सहदेव गौतम हुनुहुन्थ्यो । त्यसमा नेपाली ब्यवसायी संघका अध्यक्ष यामु निरौला, उपाध्यक्ष चिरन खवास र भीम सुवेदी, महासचिव मदन दवाडी, कोषाध्यक्ष काशी दनै लगायतले तालिमको अवस्थामा निरन्तर खटेर स्वयम्सेवीको रुपमा प्रशिक्षक र प्रशिक्षार्थीलाई सहयोग गर्नुभयो ।