‘एमसीसीमाथि छलफल गरियोस्’ भनि प्रस्ताव राख्ने अर्थमन्त्री किन हिँडे काठमाडौं छाडेर ?

‘एमसीसीमाथि छलफल गरियोस्’ भनि प्रस्ताव राख्ने अर्थमन्त्री किन हिँडे काठमाडौं छाडेर ?


आज बिहीबारको प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफलको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । गत आइतबार सरकारले एमसीसी टेबल गरेको छ र छलफलका लागि बैठक तय भएको छ ।

संसद् बैठकका दुई सम्भावित कार्यसूची मध्ये एक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा एमसीसी सम्झौताबारेको छलफल गर्ने भन्ने रहेको छ, जसलाई संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने सम्भावित कार्यसूचीमा जनाइएको छ ।

संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यसअघि आइतबार पनि उनले संसदमा एमसीसी टेबल गर्नुपर्ने थियो, अर्थमन्त्रीको दल माओवादी केन्द्रका अधिकांश नेता एमसीसीको विपक्षमा छन् । तर अर्थमन्त्री भएका कारण एमसीसी टेबल गर्नुपर्ने भएपछि उनी बैठकमा उपस्थित भएनन् । उनी उपस्थित नभएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसीसी टेबल गरेका थिए ।

यसै पेरिफेरिमा संसदमा एमसीसीबारे उठेका प्रश्नहरुको बारेमा जवाफ दिनुपर्ने भएपछि त्यसलाई छल्नका लागि अर्थमन्त्री सामान्य कार्यक्रममा सहभागी हुन उपत्यकाबाहिर गएका छन् ।

सर्वाधिक चासो रहेको एमसीसीबारे संसदमा बहस हुँदा सम्झौताको एक पक्ष अर्थमन्त्रालय र त्यसका विभागीय मन्त्री बैठकमा सहभागी नहुने देखिएको छ । उनी एमसीसीबारेको प्रस्ताव पेस गर्नुपर्ने भएपछि त्यसलाई छल्नका लागि उपत्यकाबाहिर गएको चर्चा चलिरहेको छ । शर्मा पर्वत उद्योग वाणिज्य संघको साधरणसभामा सहभागी हुन कुश्मा पुगेका छन् ।

उनको दलले एमसीसी पास गर्न नसकिने निर्णय गरेको छ भने एकीकृत समाजवादीले पनि त्यस्तै निर्णय गरेको छ, तर प्रधानमन्त्री भने गठबन्धन तोडेर भए पनि एमसीसी पास गर्ने पक्षमा रहेको चर्चा यतिबेला ब्याप्त छ ।