नेपाल-भारत नवौँ ऊर्जा बैठक : ‘ऊर्जा क्षेत्रको विकासका लागि नेपाल र भारत एकापसमा मिलेर काम गर्ने’

नेपाल-भारत नवौँ ऊर्जा बैठक : ‘ऊर्जा क्षेत्रको विकासका लागि नेपाल र भारत एकापसमा मिलेर काम गर्ने’


विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जासम्बद्ध अधिकारीको नवौँ बैठक बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार सहसचिवस्तरीय बैठकको आयोजना गरिएको हो ।

बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत, विद्युत् विकास विभागका महानिर्देशक सञ्जीव देवलगायत सहभागी थिए । भारतका तर्फबाट विद्युत् मन्त्रालयका सहसचिव घनश्याम प्रसादलगायतको सहभागिता थियो । बैठकमा साझा एजेण्डा तय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

कार्यक्रमअनुसार बिहीबार सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दैछ । मन्त्रालयका अनुसार कोरोना महामारीका कारण प्रत्यक्षरूपमा हुन नसकेको बैठक यसपटक भौतिकरूपमा आयोजन गरिएको हो । विसं २०७६ असोज २७ र २८ गते संयुक्त निर्देशक समितिको बैठक भारतको बैङ्गलोरमा भएको थियो । यसअघिका अनौपचारिक बैठक श्रव्यदृश्यका माध्यमबाट आयोजना गरिएको थियोे ।

बिहीबारको बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा मन्त्रालयमातहतका निकायका अधिकारी सहभागी हुँदैछन् । यस्तै भारतका ऊर्जा सचिव आलोककुमार नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउने बताइएको छ ।

विभागका महानिर्देशक देवका अनुसार बुधबारको बैठकमा न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण, हाल सञ्चालनमा रहेका प्रसारण लाइनको क्षमता वृद्धि र विद्युत् व्यापारलगायतका विषयमा सकारात्मक छलफल भएको छ ।

ऊर्जा क्षेत्रको विकासका लागि दुवै देश एकापसमा मिलेर काम गर्ने विषयमा सौहार्दपूर्ण तरिकाले महत्वपूर्ण छलफल भएको र बिहीबारको बैठकमा उपयुक्त निर्णय हुनेछ । नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव गरिएको थियो । सोही प्रस्तावलाई केन्द्रमा राखेर छलफल भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले आगामी मनसुनदेखि झण्डै ८५० मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रस्ताव गरेको छ । यसअघि प्राधिकरणले देवीघाट र त्रिशूली जलविद्युत् आयोजनाको कूल ३९ मेगावाट मात्रै निर्यात गर्ने अनुमति पाएको थियो ।

निर्यातको अवसर नपाउँदा प्राधिकरणले गत मनसुनमा झण्डै रु पाँच अर्ब बराबरको बिजुली खेर गएको बताएको छ । यस्तै बैठकमा नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल भएको छ ।

आगामी मनसुनमा नेपालको बिजुली खेर जाने अवस्था आएकाले कुनै न कुनै कोणबाट सम्बोधन गर्नेगरी यसपटक प्रयास गरिएको सम्बद्ध अधिकारीले बताएका छन् । सो प्रसारण लाइन नेपाल र भारतबीच समान लगानीमा निर्माण हुने सम्झौता भइसकेको छ । कूल ४०० केभी क्षमताको न्यू बुटवल गोरखपुर प्रसारण लाइनको २० किलोमिटर खण्ड नेपाली भूभागमा पर्नेछ भने १२० किलोमिटर खण्ड भारतमा पर्नेछ । विसं २०७६ असोजमा भएको संयुक्त निर्देशक समितिको बैठकले सो प्रसारण लाइन निर्माणबारेमा सहमति जुटाएको थियो ।

यस्तै कटैया कुशाहा १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट, रक्सोल–परवानीपुर प्रसारण लाइन, न्यू नौतनवा मैनिहा १३२ केभी प्रसारण लाइनको क्षमता वृद्धिका बारेमा समेत आजको बैठकमा छलफल भएको छ ।

बैठकमा भारतीय कम्पनीले सङ्खुवासभामा निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना र त्यसको प्रसारण लाइन निर्माणको प्रगतिका विषयमा विचारविमर्श भएको थियो ।

विसं २०७६ मा भारतको बैङ्गलोरमा भएको बैठकमा पहिलो अन्तरदेशीय ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि, भारतीय ग्रीड प्रयोग गरी नेपाल र बङ्गलादेशबीच विद्युत् आदानप्रदानलगायत नौवटा विषयमा छलफल भएको थियो ।