प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल, पौडेलले गरे यस्तो खुलासा

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल, पौडेलले गरे यस्तो खुलासा


सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका माधव नेपालबीच भेटवार्ता भएको हो ।

तीन नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् । बिहीबार बिहान प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका थिए । दुई नेताबीच छलफलको केही समयपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि सहभागी भएका हुन् ।

शर्माका अनुसार तीन नेताबीच एमसीसीको विषयमा करिब आधा घन्टा छलफल भएको थियो ।

सरकार तत्कालै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट अनुमोदन गराउने तयारीमा छ भने माओवादी केन्द्र संशोधनविना अनुमोदन गराउने पक्षमा छैन । एकीकृत समाजवादीमा भने दुई धार देखिएको छ ।

उता नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसीमा प्रचण्ड र माधव नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने अभिव्यक्ति दिएका छन् । प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको खुलासा गरेका हुन् ।

‘सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ’, पौडेलले भनेका छन् ।

एमसीसी अमेरिकी साम्राज्यवाद नभइ विकास परियोजना र अमेरिकी जनताको उपहार भएको जिकिर गर्दै पौडेलले एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप र भने, ‘जनताका बीचमा भ्रम फैलाउने काम गरिएको छ ।’