भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख खोप उपहार

भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख खोप उपहार


भारत सरकारको ‘खोप मैत्री’ योजनाअन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा बनेको कोभिड-१९ विरुद्धको खोपको एक लाख डोज उपहार प्रदान गरेको छ ।

काठमाडौंको टुँडिखेलस्थित नेपाली सेनाको जंगी अड्डामा बिहीबार आयोजित एक समारोहमा गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पी.एन. अनन्थनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई उपहारस्वरुप खोप हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा लेफ्टिनेन्ट जनरल अनन्थनारायणले गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदायलाई सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भारतले उपहारस्वरुप प्रदान गरेको खोपको स्वागत गर्दै रथी कार्कीले भारतीय सेनाले अघि बढाएको सहकार्यप्रति खुशी व्यक्त गर्नुभयो ।

सन् २०२० यता कोभिशिल्ड खोप, स्वास्थ्य सामाग्री, एम्बुलेन्स लगायतका सहयोगमार्फत भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्ध लड्न सहयोग गरिरहेको छ । भारतीय सेनाले प्रदान गरेको यो खोप उपहारले दुई देश र दुई देशका सेनाबीचको सहकार्यलाई पुष्टि गरेको दूतावासले जनाएको छ ।