कांग्रेस-एमाले नेताहरुबीच बालुवाटारमा छलफल सुरु

कांग्रेस-एमाले नेताहरुबीच बालुवाटारमा छलफल सुरु


देउवा-भट्टराई भेटवार्ता

नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । बिहीबार साँझ अबेर एमाले नेताहरु छलफलका लागि बालुवाटार पुगेका थिए ।

बिहीबार दिउँसो संसद् भवन नयाँ बानेश्वरमा भएको छलफलका क्रममा साँझ फेरि कुराकानी गर्ने सहमति नेताहरुबीच भएको थियो ।

संसद बैठक अवरुद्ध भएपछि प्रधानमन्त्री देउवाले छलफललाई तिव्रता दिएका छन् ।

दिउँसो एमाले अध्यक्ष ओली र देउवाले पार्टीका नेताहरुसँगै संयुक्त रुपमा छलफल गरेका थिए भने एक्ला एक्लै वार्ता पनि गरेका थिए । त्यसपछि ओलीले पार्टीका नेताहरुसँग छलफल गरेर पुनः बेलुका बस्ने बताएका थिए ।

देउवासँगको भेटवार्ताअघि एमालेले माओवादी केन्द्रसँग पनि छलफल गरेको छ ।

एमसीसीका कारण पछिल्लो समय राजनीतिक ध्रुवीकरण बढेको छ भने एमसीसी प्रस्ताव पास वा फेल के होला भन्ने जिज्ञासा आम तहमासमेत निकै बढेको पाइएको छ ।

यसै सिलसिलामा प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच पनि भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ दुई नेताबीच भेटवार्ता भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

एमसीसीलाई लिएर जसपामा विवाद देखिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले एमसीसीको समर्थन गरेको छैन भने बाबुराम भट्टराई एमसीसीको पक्षमा रहेका छन् । उनी गठबन्धन तोडेर भए पनि एमसीसी पास गर्नुपर्ने पक्षमा छन् ।

प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै प्रधानमन्त्री देउवाले छलफललाई तिव्रता दिएका छन् । उनले आजै दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।