सरकारले प्रवक्ताले भने- ‘गठबन्धन टुटेको छैन’

सरकारले प्रवक्ताले भने- ‘गठबन्धन टुटेको छैन’


सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अहिले नै सत्ता गठबन्धन नटुटेको बताएका छन् । बिहीबार राति नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीचको छलफलपछि बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले अहिले नै गठबन्धन नटुटेको र एमसीसी प्रस्ताव गठबन्धन सरकारले ल्याएको बताए ।

‘अहिले नै यो गठबन्धन टुटेको छैन। गठबन्धन कायमै छ,’ उनले भने । मन्त्री कार्कीले संसदीय परम्परा र अभ्यासमा सरकारले ल्याएको प्रस्ताव, सैद्धान्तिक छलफललाई मत विभाजन गरेर लाने परम्परा नरहेको बताए । अहिले गठबन्धन कायम रहेको र यो प्रस्ताव गठबन्धन नेतृत्वको सरकारले ल्याएकोले यसमा छलफल हुने उनको विश्वास थियो ।

ु२०४८ सालदेखि संसदीय परम्परा र अभ्यासमा सरकारले ल्याएको प्रस्तावलाई सैद्धान्तिक छलफललाई मत विभाजन गरेर लाने परम्परा छैनु उनले भने, ‘यदि सरकारले ल्याएको प्रस्तावलाई यसरी मत विभाजन गर्न थाल्यौँ भने भोलि कुनै पनि सरकारले ल्याएका प्रस्तावहरुमा छलफल नै नहुने परिस्थितिको सिर्जना हुन सक्छ ।’

बहुमत नभइ सरकार नबन्ने भएकाले प्रस्तावमा मतदान गर्न आवश्यक नरहेको उनको भनाइ छ ।

‘बहुमत नभइ सरकार बन्दैन र बहुमत प्राप्त सरकारले ल्याएको प्रस्तावमा छलफल हुँदैन भने त्यो सांसद र प्रतिनिधिसभाको के काम ? त्यसैले भोलिको बैठकमा सैद्धान्तिक छलफल प्रारम्भ हुनेछ त्यसपछि यसमा गहन र सार्थक बहस भएर एमसीसीलाई हामी एउटा निष्कर्षमा पुर्‍याउनु छु’, उनले भने ।

ज्ञातव्य छ, बिहीबार राति कांग्रेससँगको छलफलका लागि एमाले शीर्ष नेताहरु बालुवाटार पुगेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुबीचको छलफल सकिएपछि सरकारका प्रवक्ता मन्त्री कार्कीले उल्लिखित प्रक्रिक्रिया दिएका हुन् ।