नेपाल वायु सेवा निगमका सुरक्षा कमाण्डर निलम्बित

नेपाल वायु सेवा निगमका सुरक्षा कमाण्डर निलम्बित


नेपाल वायु सेवा निगमले फागुन ९ गते काठमाडौंबाट दोहा जाने तयारीमा रहेको निगमको ए ३३०–९ एन जहाजमा अनधिकृत व्यक्ति फेला परेको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

निगमले एक विज्ञप्ति जारी गरेर उक्त घटनालाई गम्भीरतापूर्वक लिँदै विमानस्थलस्थित सुरक्षा व्यवस्थापनमा खटिएका निगमका सुरक्षा कमाण्डरलाई तत्काल निलम्बन गरी अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

घटना सम्बन्धमा सत्यतथ्य छानबिन गर्नका लागि निगमका नायव महाप्रबन्धकको संयोजकत्वमा शुक्रबारभित्र प्रतिवेदन पेश गर्ने गरी एक उच्चस्तरीय छानबिन उपसमिति समेत गठन गरिएको निगमकी प्रवक्ता अर्चना खड्काले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

रौतहटका १८ वर्षीय हस्पम आलम पासपोर्ट र टिकटबिनै कतार जाने जहाज चढेका थिए । फागुन ९ गते हस्पम विमानस्थलको सुरक्षा घेरा तोडेर सहजै हवाई मार्गमा पुगेर विमान चढेका थिए । पासपोर्ट समेत नभएको व्यक्ति एकाएक विमानमा पुगेपछि विमानस्थलको सुरक्षालाई लिएर गम्भीर प्रश्न उठिरहेको छ ।