एमसीसी र संसद् खुलाउने विषयमा एमालेसँग छलफल भयो : प्रचण्ड

एमसीसी र संसद् खुलाउने विषयमा एमालेसँग छलफल भयो : प्रचण्ड


एमाले खुत्रुके होइन : नेम्वाङ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी र सदन खुलाउने विषयमा एमालेसँग छलफल भएको बताएका छन् । बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुसँगको छलफलबाट बाहिरिने क्रममा क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले छलफलका क्रममा आ-आफ्ना कुरा राखिएको बताए ।

‘एमसीसी र सदन खुलाउने विषयमा छलफल भयो, आ-आफ्ना कुरा राखियो’, प्रचण्डले भने ।

माओवादीसँग छलफल गर्नुअघि एमालेले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेससँग छलफल गरेको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच ‘वान अन वान’ कुराकानी भएको थियो । प्रचण्डसँगको भेटवार्तापछि एमाले नेताहरु देउवासँगको छलफलका लागि बालुवाटार प्रस्थान गरेका थिए ।

एमसीसी सम्झौतालाई लिएर पछिल्लो समय सत्ता गठबन्धनमा दरार आएको छ ।

यसै क्रममा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेकपा माओवादी केन्द्रसँग सकारात्मक रूपमा छलफल अघि बढेको बताएका छन् ।

बिहीबार साँझ माओवादी केन्द्रसँगको बैठकपछि संसद् भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा नेता नेम्वाङले छलफललाई निरन्तर अघि बढाउने सहमति भएको बताए ।

माओवादीसँग पुनः सहकार्य हुन लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा भने उनले परिस्थिति त्यो लेभलमा नपुगेको अभिव्यक्ति दिए ।

धेरै समयपश्चात् यो तहमा गम्भिर भएर छलफल भएको भन्दै उनले माओवादीसँग पुनः छलफल गर्दै जाने पनि बताए ।

एमसीसीबारे छलफल भइरहेको र उपयुक्त विन्दुमा पुगेर निर्णय गर्ने बताउँदै नेम्वाङले आफूहरु सबै कुरा सकिएपछि फुटाएर काम चलाउने खुत्रुके जस्तो बन्ने पक्षमा नरहेको बरु संविधान र पद्धतिसँग नजिक रहेको तर्क गरे ।