उपेन्द्रको ‘एकलौटीविरुद्ध’ बाबुराम पक्षद्वारा देशैभरी हस्ताक्षर संकलन

उपेन्द्रको ‘एकलौटीविरुद्ध’ बाबुराम पक्षद्वारा देशैभरी हस्ताक्षर संकलन


जनता समाजवादी पार्टी नेपाल (जसपा, नेपाल)को अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र ‘एकलौटी गरेको’ भन्दै संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई समुहले देशैभरी हस्ताक्षर संकलन गरेको छ ।

पार्टीभित्र ‘सामुहिक तथा समावेशी नेतृत्व’को आफनो मागलाई अध्यक्ष यादवले सम्बोधन गर्न आनाकानी गरे पछि भट्टराई पक्षधरले देशैभरी हस्ताक्षर संकलन गरेको हो ।

आजदेखि काठमाडौंमा सुरु हुने केन्द्रिय कार्यकारिणी समितिको बैठकमा ‘सामुहिक तथा समावेशी नेतृत्व’को मागलाई छलफलमा लैजाने तर सो मागलाई सम्बोधन गर्न अध्यक्ष यादवले आनाकानी गरेर विधानतः २५ प्रतिशत भन्दा बढीको हस्ताक्षर बुझाएर केन्द्रिय समितिको बैठक बोलाउने योजना अनुसार सो हस्ताक्षर संकलन गरिएको हो ।

‘जसपा नेपालका मुख्यतः तीनवटा ठुला खस आर्य, आदिवासी÷जनजाति र मधेसी ‘क्लस्टर’हरुको प्रतिनिधित्व गर्ने पार्टी हो, यसको एकता र एकीकरण पनि सोही अनुसार भएको हो भन्ने भुल्नु हुदैन,’ कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने, ‘बदलिदो देशको परिस्थीति र पार्टी एकताको पृष्ठभुमीलाई हेर्दै अब एकल नेतृत्वमा होइन, समावेशी र सामुहिक नेतृत्व पार्टी भित्र हुनुपर्छ भन्ने अजेन्डा राख्दै आएका छौं, त्यसमा सम्बोधन गर्ने काम भइरहेको छैन ।’ उनका अनुसार देशैभरीका नेता तथा कार्यकर्ताले सो माग गर्दा पनि सो बिषयमा छलफल चलाउन नेतृत्वले आनाकानी गरिरहेको छ ।

सो विषयमा केन्द्रीय अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष भट्टराई, अशोक राई, महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठका बिचमा लाजिम्पाटदेखि बालकुमारीसम्म पटक पटक छलफल भए पनि अध्यक्ष यादवले आनाकानी गरेपछि सो बिषय जसपामा पेचिलो बन्दै गएको छ ।

‘पटक पटक समावेशी र सामुहिक नेतृत्वका बारेमा नेतृत्वलाई ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएपछि हामीले मुलुकका ७ वटै प्रदेशवाट हस्ताक्षर संकलन सुरु गरेका हौं,’ सिंहले भने, ‘७ वटै प्रदेशका केन्द्रिय सदस्यहरुको हस्ताक्षर संकलन गरेर केन्द्रिय समिति बैठक बोलाउन माग गर्ने हाम्रो उद्देश्य हो, हस्ताक्षर संकलन उत्साहजनक रुपमा भइरहेको छ ।’ उनका अनुसार सो हस्ताक्षर संकलन बुझाएर केन्द्रिय समिति बैठक बोलाउन बाध्य बनाउने बाहेक अर्को उद्देश्य राखिएको छैन ।

‘हस्ताक्षर संकलनलाई पार्टी विभाजनको रुपमा ब्याख्या गर्ने काम भएको छ, यो हुँदै होइन, नेतृत्वलाई जवाफदेही बनाउन र पार्टीलाई पार्टी जस्तो बनाउन यो हस्ताक्षर संकलन गरिएको हो,’ सिंहले भने । तत्कालिन भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी हुदैँ जसपामा एकीकरण भएका सिंहका अनुसार कार्यकारिणी समिति बैठकबा ‘समावेशी र सामुहिक नेतृत्व’का बारे निर्णय हुन नसकेमा केन्द्रिय समितिको बैठकवाट आवाश्यक निर्णय लिइनेछ । तर, कति संख्यामा हस्ताक्षर संकलन भयो रु त्यो भने खुलाउन चाहेनन् ।

‘हामी शीर्ष ५ नेतृत्वमा, केन्द्रिय कार्यकारिणी समितिमा, केन्द्रिय समिति देखी संसदमा पनि बहुमतमा छौ,’ एक असन्तुष्ट नेताले भने, ‘उपेन्द्रजीको अहिलेको स्थीति सबैतिर अल्पमतमा हुनुहुन्छ, अल्पमतमा भएर पनि बहुमतको माग सम्बोधन गर्न आनाकानी गरिरहनुभएको छ, यो अब धेरै दिन चल्दैन ।’ उनका अनुसार केन्द्रिय कार्यकारिणी समितिको बैठकले धेरै विषय टुंगो लगाउने छ ।

आजदेखि काठमाडौंमा सुरु हुने कार्यकारिणी समितिको बैठकमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), स्थानीय निर्वाचन, समसमायिक राजनीतिक बिषयसहित पार्टीको विधान अधिवेसनसम्म अजेन्डा तय गरिएको भए पनि समावेशी र सामुहिक नेतृत्वको विषयलाई छलफलको अजेन्डामा अध्यक्ष यादवले राखेका छैनन् । जसमा यादवसँग असन्तुष्ट भट्टराई समुहले भने आपत्ति जनाउँदै आएको छ ।