बन्द-हडताल र काङ्ग्रेसको पहिचान-दामोदर पौडेल

बन्द-हडताल र काङ्ग्रेसको पहिचान-दामोदर पौडेल


नेपाली काङ्ग्रेसले पनि बन्द गर्‍यो, हड्तालको आह्वान गर्‍यो, चक्काजाम गर्‍यो ! बन्दबीच आगजनीलगायतका अराजकता देखिएकोले काङ्ग्रेस र अन्य दलमा केही फरक रहेन भन्ने प्रतिक्रिया अहिलेसम्म पनि आइरहेका छन् । विश्वसमुदायमा रहेको यसको साख घट्यो भन्नेदेखि विदेशी मित्रहरूले समेत काङ्ग्रेसको चरित्रसँग यस्ता बन्दहरू मोल नखाने धारणा सार्वजनिक गरेकै हुन् । यसले काङ्ग्रेसप्रति विश्वसमुदायको धारणा सकारात्मक रहेको र काङ्ग्रेस परिपक्व रूपमा हिँड्नुपर्छ भन्ने नै सङ्केत गर्छ । साथसाथै काङ्ग्रेसको बन्द-हडतालको लक्ष्य र बाध्यता, देशको परिस्थितिबारे केही भ्रमहरू प्ानि रहन पुगेकोले यस्तो भएकोमा यसको कारण खोज्न आवश्यक छ ।
काङ्ग्रेस बन्द-हडताल पक्षधर दल होइन भन्ने त प्रस्टै छ । काङ्गो्सले जहिले पनि जनतालाई मर्का नपारी राजनीतिक क्रियाकलाप गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात् गरेको छ । तर, कुनै पनि अर्को परिवेशको कारणले लिनुपर्ने निर्णय स्वतन्त्र हुँदैन, बरु बाध्यतावश गरिएको हुन्छ । तरुण दल चितवनका अध्यक्षको प्रहरी र प्रशासनको निगरानीमा थुनामा भएको अवस्थामा हत्या प्रयास र सोही कारण मृत्यु भएको हो । त्यसैको प्रतिकारमा भएको बन्दको विरोध हुन पुग्यो । वास्तवमा राज्यले आफ्नो सुरक्षामा लिएको मानिसको संरक्षण गर्न सक्दैन वा नियतवश हत्या गर्ने वातावरण हुन्छ भने त्यसको प्रतिकार गर्नैपर्ने हुन्छ । सुरक्षामा रहेका मानिसको समेत राज्यले संरक्षण दिन सक्दैन भने देशमा शान्तिसुरक्षाको अवस्था कस्तो होला भनेर अनुमान गर्ने ? राज्यबाट यस्तो कार्य वा कमजोरी नदोहोरियोस् भन्नाको लागि यसरी दबाब दिनु आवश्यक थियो र समग्र नेपाली जनताको सुरक्षाका लागि पनि यो आवश्यक थियो । मरेका मानिस फर्केर आउँदैनन् भन्नो काङ्ग्रेसलाई थाहा छ, तर काल नपल्कियोस् भन्ने सजगताको लागि राज्यलाई चेतना र जनतालाई सजग हुन गरिएको प्रतिरोधको क्रम त्यो बन्द हो ।
केहीले मृतकले पनि गल्ती गरेका थिए भन्ने गरेका पाइन्छन् । उनले गल्ती गरेमा अदालतमा मुद्दा चल्नु र सावित भएमा सजाय पाउनुलाई लोकतान्त्रिक शक्तिले अन्यथा मान्दैन । तर, प्रमाणित नभएको र हिरासतमा रहेको मानिस मारिनु राज्यविहीनताको एउटा पाटो हो । यो अवस्थाको प्रतिकार सरकारले शान्तिपूर्ण मागलाई सम्बोधन नगरेको कारणले भएको हो । राज्यले संरक्षण गरेको भनिएको अवस्थामै मारिएकोमा त्यसको दोष स्वतः राज्यलाई जान्छ र यस्तो अवस्थामा क्षतिपूर्ति र सहिद घोषणाको माग हुनुलाई यसभन्दा पहिला सहिद घोषणा भएका र क्षतिपूर्ति पाएकाहरूको परिप्रेक्ष्यमा हेरिनुपर्छ । दुई पक्षको झगडामा मरेका, विभिन्न बन्द आदि गर्दा मरेकाहरूका सम्बन्धमा क्षतिपूर्तिको कुरा आउने तर शिव पौडेलको सम्बन्धमा यो माग उपयुक्त नहुने भन्नु नागरिकलाई समान व्यवहार गर्न अस्वीकार गर्नु हो र यही लहैलहैमा केही बुद्धिजीवीहरू पनि लाग्नु हो । अन्यायको प्रतिकार गर्नका लागि समाजमा रहेको प्रवृत्तिको भूमिका रहन्छ नै । काङ्ग्रेसमा लागेर अन्यायको विरुद्धमा लाग्दा पनि दल र नागरिक समाजले सम्मान गर्दैन भने काङ्ग्रेसमा लाग्नु भनेको गुमनाम रूपमा मर्न तयार हुनु हो भन्नो सन्देश गएमा लोकतन्त्रको मर्म राम्रोसँग बुझेकाहरूलाई पनि सहन गाह्रो पर्नेछ र काङ्ग्रेसको पछि लाग्न गाह्रो हुनेछ । लोकतन्त्रको सम्मान गर्ने नागरिकहरू सधैं हेपिनेछन् । यो कुनै हालतमा पनि उचित होइन । अन्याय गर्नेले सुविधा पाउने र न्यायको पक्षमा लाग्नेले पीडामात्र भोग्नुपर्ने अवस्थाको अन्त्यका लागि पनि परिस्थितिजन्य निर्णय लिनैपर्छ । यस्ता अरू अन्याय भएमा जनता हात बाँधेर बस्दैनन् भन्न र जनताको अन्यायको विरुद्धमा मनोबल उचो राख्न पनि प्रतिकारमा केही गर्नुपर्ने हुन्छ । त्यही प्रतिकार हो शिव पौडेल-हत्याको प्रतिकार । बन्द कुनै मागका लागि होइन अन्यायको प्रतिकारमा भएको हो र जनतामा दास मनोवृत्ति नबढोस् भनेर पनि हो । लोकतन्त्रवादीले जनताको न्यायपूर्ण मनोबललाई उचो राख्न सधैं आफूलाई तयार राख्न आवश्यक छ । विदेशी मित्रहरू र स्व्ादेशी विद्वान्हरूले पनि यसलाई न्यायका लागि आन्दोलन भन्ने बुझ्नुपर्ने हुन्छ ।
चन्दा माग्न जाँदा कुटिएकाको पक्षमा, दोहोरो झडप भएकोमा प्रहरीले थुनेकोमा, कसैलाई जबर्जस्ती समातेकोमा त्यस्तालाई प्रहरीले पक्रेकोमा, चक्काजाम आदि गर्नेहरूको चक्काजाम र काङ्ग्रेस बन्दलाई समान रूप्ामा हेरिनुले घटनाप्रति नै अन्याय गरिनु भन्ने अर्थ लाग्नेछ । आधिकारिक संस्थाले अयोग्य सावित गरेकाहरूको बन्द र अन्यायको विरुद्धमा भएको बन्दलाई एउटै तराजुमा राख्ने हो भने तथ्यको पारख गर्ने स्वभावको अन्त्य हुनेछ । मारपिट गर्न पाउनुपर्छ भनेर प्रहरीमा घेराउ र बन्द गर्ने कार्य र मारपिट गर्न पाउनुहुँदैन भनेर गरिएको बन्दलाई एउटै तराजुमा राखिनु उपयुक्त हुन्छ र ?
बन्द-हडताल लोकतन्त्रवादीको लक्ष्य नभई बाध्यता हो । त्यो बाध्यता पनि अरूको भन्दा विशेष अधिकारका लागि होइन समान अधिकारका लागि भनेर गरिएको हो । मानिसले यही प्रसङ्गमा भनेका छन्- बन्दुक त काङ्ग्रेसले पनि बोकेको हो र माओवादी र एमालेको पूर्वसङ्गठनले पनि बोकेकै हो । तर, यो भिन्नतालाई पनि त बुझ्न आवश्यक छ कि काङ्ग्रेसले आफ्नो दलको अधिकारका लागि नभई सबै दल र विचारको तथा बहुलवादका लागि बन्दुकसमेत बोकेको थियो । माओवादीहरूसमेतले आफ्नो दलको लक्ष्यका लागि मात्र भनेर बोकेका थिए । योभन्दा ठूलो अन्तर के हुन सक्दछ ? बन्दुक नै बोकेको भएर पनि तात्विक रूपमा आकाश-जमिनको भिन्नता छ ।
प्रसिद्ध लोकतन्त्रवादी युगोस्लाभ नेता बास्लाभ हावेलको ७५ वर्षको उमेरमा १८ डिसेम्बर २०११ मा मृत्यु भयो । उहाँंले भन्न्ाुभएको एउटा वाक्य यस्तो छ- ‘सत्य र प्रेमले जहिले पनि झुट र घृणालाई परास्त गर्नुपर्छ ।’ डिसेम्बर १९ को शिव पौडेलको हत्याको विरुद्धमा भएको बन्द पनि यथार्थमा हत्या-हिंसाको विरुद्धमा मानवताको पक्षमा राज्य र जनतालाई सजग पार्न भएको सत्यको पक्षमा भएको बाध्यात्मक कार्य हो ।
कानुनी राजको पक्षमा र राज्यको अकर्मण्यताको विपक्षमा गरिएको कार्य न काङ्ग्रेसको नीतिविपरीत हुन्छ न यसले काङ्ग्रेसको साख नै घटाउँछ । केवल सत्यलाई सबैले प्रस्ट गर्नुपर्छ, त्यो कार्य काङ्ग्रेसले गरेको छ । माओवादी र सेनाका सम्बन्धमा भएका हत्यासमेतका विषयसँग यसलाई जोड्नुको कुनै औचित्य छैन । यो कार्य कसैलाई माफीका लागि नभएर जनताको सुरक्षाका लागि भएको हो । सबैले बुझ्नैपर्ने हो कि अन्यायको विरुद्धमा अन्य विकल्पले काम नगरेमा प्रतिकार गर्नु लोकतन्त्रविपरीत हुन्छ ? बरु यस्ता कार्य नभए अन्याय र अन्यायीको मात्रा र मनोबल क्रमशः अरू बढ्ने हुन्छ । लोकतन्त्रका लागि अन्य विकल्प नभएर बन्दुक बोकेजस्तै कार्य गर्दा यो दलीयसमेत नभई आमजनता र मानव अधिकारका लागि हुन्छ । अन्यथा जनता अन्याय सहेर बस्ने अवस्थामा पुगेको हेर्नुपर्ने हुन्छ । उत्तर कोरियामा ग्रामीण जनता भोकै मरिरहेका छन् तर नेताहरूले सञ्चारलाई आफ्नो पक्षमा मात्र उपयोग गरेकोले जो बाँचेका छन् उनीहरू पनि नेताका मायाले गर्दा बाँचेको भ्रममा छन् । नेताको विरोध गरेमा मृत्युदण्डसमेत हुन सक्दछ । यो अवस्थाको सुरुवात नहोस् भन्न्ााका लागि पनि जनतालाई सजग गर्नैपर्छ । राज्यको अकर्मण्यताको पहिचान र जनताको भ्रम चिर्न पनि केही जुझारू कार्य हुनु स्वाभाविक हो ।