नेपालमा कोरोनाबाट मृत्यु हुने ६०–६९ वर्ष समूहका बढी

नेपालमा कोरोनाबाट मृत्यु हुने ६०–६९ वर्ष समूहका बढी


विश्वव्यापी महामारीका रूपमा देखापरेका कोभिड–१९ सङ्क्रमणबाट नेपालमा हालसम्म झण्डै १२ हजारले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणबाट शुक्रबार (१३ फागुन)सम्म ११ हजार ९३२ जनाको ज्यान गइसकेको छ ।

कोरोनाको विभिन्न ‘भेरियन्ट’मध्ये डेल्टा भेरियन्टका कारण नेपालमा धेरै नागरिकको मृत्यु भएको थियो । पछिल्लो समय फैलिएको ‘ओमिक्रोन’ भेरियन्ट बढी सङ्क्रामक देखिए पनि कम घातक पाइएको चिकित्सकको भनाइ छ ।

शुक्रबार थप एक जनाको कोरोनाका कारण मुत्यु भएको छ । नेपालमा कुल सङ्क्रमितको १.२ प्रतिशतको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । नेपालमा कोरोनाबाट सबैभन्दा बढी ६० देखि ६९ वर्ष उमेरसमूहका व्यक्तिले ज्यान गुमाएका छन् । सो उमेर समूहका दुई हजार ५०१ को सङ्क्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । यस्तै ७० देखि ७९ वर्ष उमेर समूहका दुई हजार ३७५, ५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार २९३ र ४० देखि ४० वर्प उमेर समूहका एक हजार ६६३ जनाले ज्यान गुमाएका छन् ।

यस्तै ८० वर्षभन्दा माथि उमेरसमूहका एक हजार ६३७, ३० देखि ३९ वर्ष उमेर समूहका ९३६, २० देखि २९ वर्ष उमेर समूहका ३७९, नौ वर्ष मुनिका ५१ र उमेर नखुलेका १३ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा आठ हजार ६२८ नमूना परीक्षण गर्दा २७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ४५२ नमूनाको पिसीआर परीक्षण गर्दा १५८ र तीन हजार १७६ नमूनाको एन्टिजेन परीक्षणमा ११७ वटामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार ५५५ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म नौ लाख ५५ हजार ४५८ जना कोरोनाभुक्त भएको मन्त्रालयको तथ्याङ्क छ । सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार २८० छ । शुक्रबार देशभरका खोपकेन्द्रमार्फत एक लाख २२ हजार ४९३ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १० लाख ५६ हजार ७७२ ले कोरोनाविरुद्धको ‘बुस्टर डोज’ लगाएका छन् ।