पूर्व मुख्यसचिव लीलामणिलाई बाबुरामको प्रश्न- ‘आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घ्यु थप्ने ?’

पूर्व मुख्यसचिव लीलामणिलाई बाबुरामको प्रश्न- ‘आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घ्यु थप्ने ?’


जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले पूर्व मुख्यसचिव लीलामाणि पौडेलमाथि एमसीसी मामलामा भ्रम पैदा गरेर द्वन्द्व चर्काउन खोजेको आरोप लगाएका छन् । पौडेलले द्वन्द्वको भूमरीमा मलजल गरेको भट्टराईको आरोप छ ।

चस्नका लागि पूर्वराजदूत समेत रहेका पौडेलले शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)ले अर्थसचिवको सरुवादेखि यसको पक्षमा वकालत गर्नेहरुलाई पैसा बाँडेको अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिप्रति संकेत गर्दै भट्टराईले उनलाई गम्भीर बन्नसमेत आग्रह गरेका छन् ।

‘जिम्मेवार मान्छेले भ्रमको आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घीउ थप्ने ? एउटा देशभक्तले सामरिक भूमरीमा फस्दै गएको देशलाई प्रतिस्पर्धी शक्तिहरूवीचमा गतिशील सन्तुलन कायम राखेर देशको स्वाधीनताको रक्षा गर्ने कि एउटा सामरिक धुरीमा ढल्केर द्वन्दको भूमरीलाई मलजल गर्ने ? सबै गम्भीर बनौँ १’, भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

ज्ञातव्य छ, कुनैबेला बाबुराम भट्टराईका प्रियपात्र रहेका लीलामणि पौडेल अहिले नेकपा (माओवादी केन्द्र)मा आवद्ध छन् ।

पचास करोड अमेरिकी डलरको एमसीसीलाई लिएर अहिले देश भित्र जनमत विभाजित बनेको छ । एमसीसीकै कारण सत्तारुढ दलहरुबीच मतभेद बढेको छ ।

सत्तारुढ पाँच दलमध्ये नेपाली कांग्रेस हालकै अवस्थामा एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा उभिएको छ । सत्तारुढ अन्य दल नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा एमसीसी संशोधन गरेर मात्र अनुमोदन गर्नुपर्ने पक्षमा छन् ।

भट्टराईको पार्टी जनता समाजवादी पनि एमसीसीलाई लिएर विभाजित छ । भट्टराई पक्षधर नेताहरु एमसीसी हालकै अवस्थामा अनुमोदन गर्नुपर्ने पक्षमा छन् भने अध्यक्ष उपेन्द्र यादव पक्षधर नेताहरु संशोधन गरेर मात्र अनुमोदन गर्नुपर्ने अडानमा छन् ।