सत्ता-लालसा छताछुल्ल : संशोधन बिना अनुमोदन नै नगर्ने अडान राख्ने नेता मध्यरातमा ‘यु-टर्न’ !

सत्ता-लालसा छताछुल्ल : संशोधन बिना अनुमोदन नै नगर्ने अडान राख्ने नेता मध्यरातमा ‘यु-टर्न’ !


गठबन्धन लचिलो देखिएपछि प्रधानमन्त्री ‘उत्साहित’, आजबाट एमसीसीमा सैद्धान्तिक छलफल हुन सक्ने

संशोधन बिना अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन नगर्ने अडान राख्दै आएका सत्तारुढ पाँच दलीय गठबन्धनका प्रमुख तीन दल अन्ततः एकाएक लचिलो देखिएका छन् ।

एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा सहमत देखिएको भन्दै नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (नेपाल) र नेकपा (एकीकृत समाजवादी) लचिलो भएका हुन् ।

प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल मात्रै गरे पनि सरकारबाट बाहिरिने संसदीय दल बैठकमार्फत निर्णय गर्न पुगेको माओवादी मात्रै होइन, संशोधनबिना अनुमोदन नगर्ने र विपक्षमा मतदान दिने भन्दै आएको माधव नेपालको नेकपा (एस) शनिबार मध्यरातबाट लचिलो भएपछि एमसीसीको ‘व्याख्यात्मक घोषणा’को ‘ड्राफ्ट‍’ अन्तिम अवस्थामा पुगेको छ । जसलाई आज ९ बजे बिहान बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठकमा सहमति गरेर अपरान्ह १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफल सुरु गर्नेमा पनि तीन दल सहमत देखिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एस)का माधव नेपालबीच शनिबार राति भएको खुमलटार वार्तापछि उनीहरु ‘गठबन्धन जोगाउन’ भए पनि ‘व्याख्यात्मक घोषणा’मार्फत एमसीसी अनुमोदन गराउनु पर्ने निष्कर्षमा पुगेका हुन् ।

सो निष्कर्षपछि माओवादीले पूर्वस्थायी समिति सदस्यको विस्तारित बैठक तथा नेकपा (एस)ले सचिवालय बैठकमार्फत पार्टी धारणा बनाएर प्रतिनिधिसभा बैठकमा उपस्थित हुनेछन् ।

परिमार्जन र संशोधन बिना एमसीसी पारित नगर्ने अडान राख्दै आएका जसपा अध्यक्ष यादव पनि जारी कार्यकारिणी समितिको बैठकमा एमसीसीका वकालत गर्दै आएका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षधरवाट ‘अल्पमत’मा परेपछि ‘व्याख्यात्मक घोषणा’मार्फत एमसीसी अनुमोदन गराउन सहमत भएपछि खुमलटारमा वार्ता भएको हो ।

अन्तर्राष्ट्रिय कानुनका ज्ञाता भनिएका गोविन्द बन्दीको नेतृत्वमा कांग्रेसबाट महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेत, नेकपा (एस)बाट स्वास्थ्यमन्त्री विरोध खतिवडालगायतका दोस्रो तहका नेताले तयार पारिरहेको ‘ड्राफ्ट’मा गठबन्धनको बैठकमा छलफल गरेपछि १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफल सुरु गराउने योजनामा सरकार लागेको छ ।

गठबन्धन लचिलो देखिएपछि प्रधानमन्त्री ‘उत्साहित’

संशोधन र परिमार्जन बिना एमसीसी अनुमोदन नै नहुने अडान राख्दै आएका मात्रै होइन, विपक्षमा मतदान गर्ने जनाउँदै आएका सत्ता गठबन्धनका सहयोगी नै ‘व्याख्यात्मक घोषणा’मार्फत जान ‘युटर्न’ भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा उत्साहित देखिएका छन् ।

आफ्नै गठबन्धनका दल असहयोगी देखिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग निरन्तर संवादमा रहेका प्रधानमन्त्री देउवा शनिबार बाालकोटसमेत गएनन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि समय तय भएको भए पनि गठबन्धनका दल अचानक ‘यु-टर्न’ भएपछि आफू बालकोट नगइ दोस्रो तहका नेतालाई पठाएका थिए । एमसीसीमा कडा अभिव्यक्ति दिँदै आएका प्रचण्ड र नेपाल नै ‘यु-टर्न’ भएपछि देउवा ‘व्याख्यात्मक घोषणा’लाई कसरी सर्वसम्मत बनाउने भन्नेतर्फ लागि परेका छन् ।

पछिल्लो चरणमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवहरुले एमसीसीप्रति एकाएक दर्शाएको लचकतालाई सत्तालालसाको चरम एवम् नांगो रुप भनी टीका टिप्पणी शुरु भएको छ ।