तीन वर्षभित्र बर्दिबासका सबै किसानको घरमा उन्नत जातको भैँसी हुने

तीन वर्षभित्र बर्दिबासका सबै किसानको घरमा उन्नत जातको भैँसी हुने


महोत्तरीको बर्दिबास नगरपालिकाले नगरभित्रका सबै किसानहरूलाई उन्नत जातको भैँसी पालन गर्न प्रोत्साहन गर्ने भएको छ ।

दूध बढी उत्पादन गरी किसानहरूको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले भारतको हरियानाबाट मुर्रा जातको ११ वटा राँगा ल्याउने तयारी गरेको छ ।

नगरप्रमुख विदुर कार्कीका अनुसार न्युनतम दुईदेखि १० लाखसम्मका ११ वटा राँगा छानेर स्वास्थ्य परीक्षण गर्न पशुस्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ ।

मुर्रा उन्नत जातको भैँसी हो । यो जातको भैँसीले १७ लिटरसम्म दूध दिन सक्ने र कम मेहनतबाटै प्रसस्त आम्दानी लिन सकिने नगरप्रमुख कार्कीको भनाइ छ ।

प्रत्येक वडामा एक ब्रिडिङ सेन्टर स्थापना गरेर हरेकमा राँगा राखिने नगरपालिकाको तयारी छ ।

कम उमेरमा नै प्रजनन क्षमता भएकाले अबको तीन वर्षभित्र नगरभित्रका सबै किसानको गोठमा यो जातको भैँसी हुने नगरपालिकाको आशा छ ।

भारतको हरियानाका किसानको मुख्य आयस्रोत दूध बिक्री हो । यहाँ राँगा तथा भैँसीको मूल्य पनि निकै महँगो छ ।