एमसीसी सम्झौता नेपालको विकासको पक्षमा छ : महन्थ ठाकुर
नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लिन नहुने बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ५० करोड अमेरिकी डलरको एमसीसीले नेपालको स्वाभीमान माथि नउठाउने जिकिर गरे ।
‘सर्तहरु राखेर नेपालको स्वाभीमान तलमाथि पारेर सहयोग दिइन्छ भने नेपाललाई एक पैसा पनि चाहिन्न,’ खनालले भने, ‘जुन सहयोग सम्मानका साथ दिइन्छ, नेपालको स्वाभीमानलाई सम्मान गरेर दिइन्छ त्यो जहिले पनि हामी स्वागत गर्छौं ।’
उनले अहिले देशभक्त नेपाली जनता एमसीसीविरुद्ध सडकमा उत्रेको तर्क गरे । देशको स्वधीनता र सार्वभौमसत्ताका विषयमा बोलिरहेका जनतामाथि प्रशासनले लाठी वर्षाएको उनले जनाए ।
‘देशलाई बचाउँ भनेर आवाज उठाउने देशभक्त माथि जुन दमन भएको छ, म त्यसको निन्दा गर्दछु,’ उनले भने ।
‘एमसीसी नेपालको विकासको पक्षमा’
उता, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी सम्झौता नेपालको विकासको पक्षमा रहेको बताएका छन् ।
एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले आफ्नो पार्टी एमसीसी सम्झौताको पक्षमा रहेको स्पष्ट पारे ।
नेपालको विकास निर्माणका लागि एमसीसी सम्झौता आवश्यक रहेको उल्लेख गर्दै उनले नेपालको ट्रान्समिसन लाइनदेखि सडक निर्माणसम्ममा खर्च गर्ने गरी आउन लागेको अनुदान स्वीकार्नुपर्ने भन्दै उनले नेपालको बौद्धिक सम्पत्ति पनि नेपालकै हुने दाबी गरे ।
ठाकुरले एमसीसी सम्झौतामार्फत आउन लागेको अनुदान नेपालकै पहलमा आएको बताए । उनले सबै प्रक्रिया पूरा गरी एमसीसी सम्झौता भएको दाबी गर्दै यसबाट देशको विकास हुने पनि बताए ।
प्रतिक्रिया