वैदेशिक रोजगारीले निम्त्यायो मधेसमा अनौठो समस्या

वैदेशिक रोजगारीले निम्त्यायो मधेसमा अनौठो समस्या


-राकेश चौधरी
मधेसका जिल्लामा वैदेशिक रोजगारले प्रशस्त मात्रामा आर्थिक सम्पन्नता भित्र्याइदिएको छ, तर यससँगसँगै कुण्ठित यौनिक क्रियाकलापले पनि निकै प्रश्रय पाउन थालेको छ । वैदेशिक रोजगारमा रहेका लोग्नेको अनुपस्थितिको गलत लाभ उठाउँदै धेरै महिलाले लुकिछिपी भए पनि यौनतृष्णा पूरा गरिरहेका छन् । यौनतृप्ति मेटाइदिनेहरूलाई नै पछि लोग्ने बनाएर जीवनयापन गर्नेहरूका मुद्दा प्रहरी प्रशासनमा बढ्न थालेका छन् ।
गत वैशाखको दोस्रो हप्ता महोत्तरीको जिल्ला प्रहरी कार्यालयमा यस्तै एउटा मुद्दाको ‘पञ्चैती’ भयो । विदेशबाट पैसा कमाएर आएको लोग्ने र नयाँ लोग्ने पक्षका सयभन्दा बढीको उपस्थिति रहेको उक्त कचहरीले मुद्दाको छिनोफानो लगाउन नसक्ने देखेपछि पञ्चैतीमा उपस्थित प्रहरी नायव उपरीक्षक रामेश्वर यादवलेे दुवै पक्षलाई अदालत नै जान सल्लाह दिएका थिए ।
धनुषा सफही गाविसका सञ्जीव साहले छोरासहित स्वास्नी फिर्ता गराइदिन प्रहरीमा उजुरी गरेपछि दुईपक्षीय पञ्चैती भएको थियो । बनिनियाकी मीनादेवीले विवाहको चार वर्षपछि महोत्तरी पडौलका रामबाबु साहसँग भागीविवाह गरेकी हुन् । छोरा चन्दनसँगै मीना नवलोग्ने रामबाबुसँगै बस्दै आएका छिन् । दुवैले आफूबाट छोराको जन्म भएको दाबी गर्न थाल्दा प्रहरीले मुद्दाको छिनोफानो गर्न अदालतको बाटो देखाएको हो । यसरी, वैदेशिक रोजगारमा पुगेकाहरूकी श्रीमती अर्कैसँग विवाह गर्नु अब सामान्य घटना हुन थालेको छ । तर, छोरा कसको हो भन्ने विवादको मुद्दा भने सम्भवतः यो पहिलो हो ।
वैदेशिक रोजगारमा जाने युवाले आफ्नो परिवारको हेरचाह गर्ने जिम्मा लगाएका साथीभाइहरूबाटै ‘विश्वासघात’को सामना गर्नुपरेको हुन्छ । महिला तथा बालबालिका कार्यालयका प्रमुख मीरा मिश्र भन्छिन्, ‘वैदेशिक रोजगारमा रहेका लोग्नेका कारण आर्थिक सम्पन्नता बढ्न थाल्दा घरमै बसेका महिलाको मन यौनतृष्णा मेटाउनेतर्फ आकरि्षत हुने गरेको छ । जसको परिणाम महिलामाथिको हिंसाको स्वरूप नै फेरिन थालेको छ ।’
जिल्ला प्रहरी कार्यालयमा आउने महिलामाथिको हिंसासँग सम्बन्धित अधिकांश मुद्दा दर्ताबिना नै पीडक र पीडित पक्षका व्यक्तिहरूलाई राखेर पञ्चैती गरी मिलापत्र गराउने गरिएको छ । यस वर्ष महिला हिंसाका ५६ वटा घटना भएको महिला विकास तथा बालबालिका कार्यालयले जनाएको छ । महिला हिंसासँग सम्बन्धित जबर्जस्ती करणी, बहुविवाह, जबर्जस्ती गर्भपतन, बोक्सी आरोपका केही मुद्दा अदालतमा विचाराधीन छ ।
वैदेशिक रोजगारबाट फर्केका लोग्नेसँग रात बिताउन आनाकानी गरेकी प्रकौलीकी एक महिलाले केही समयअगाडि आत्महत्या नै गरेकी थिइन् । लोग्ने विदेशमा रहेका बेला यौनसाथी बनाएका युवकले स्वास्नी बनाउने प्रलोभन देखाए पनि वाचा कार्यान्वयन गरेका थिएनन् । विदेशबाट फर्केका लोग्नेसँग सुत्न आनाकानी गर्दा उक्त पोल खुलेको थियो । कामचलाउ यौनसाथीलाई नछाडे लोग्नेले आत्महत्या गर्ने धम्की दिएपछि उल्टै श्रीमतीले नै आत्महत्या गर्न पुगेकी थिइन् । वैदेशिक रोजगारीले यसरी नयाँ-नयाँ समस्या थप्दै गइरहेको छ । आर्थिक लेनदेन, सासूबुहारीको लडाइँमा मात्र सीमित नभई अब कुन बच्चाको बाबु को ? स्वास्नी लोग्ने वा नवलोग्ने कसको ? भन्नेजस्ता अनौठा सवाल जन्माएको छ ।
तराई मधेसका कथा पुस्तकमा समेटिएको रामजीप्रसाद उपाध्याय -राप्रउ) पोख्रेलको कथा ‘रनियाँको पञ्चैती’सँग संयोगवश केही हदसम्म मिलेको छ । कथाको अन्त्यमा यस्तो भनिएको छ-
रनियाँ सोचिरहेकी थिई- बाबु महिन्दर होस् वा देवा ! के भो र ? छोरी त मेरो गर्भकी हो, मेरो रगत हो । सन्तानको पहिलो हकदार आमा नभएर को हुन्छ ? यसलाई कसले खोस्न सक्छ ? पञ्च भनेको पञ्च हो, उसमा त्यतिखेर देवताको बास हुन्छ र त उसले गरेको फैसला सबैले मान्छन्, कसैले काट्दैन । आमा-बाले समाजको अघिल्तिर मलाई देवासित पति-पत्नीको गाँठोमा बाँधिदिएको हो । र्ध्ार्मले बाँधिएको लोग्ने दूर देश गएको अवस्थामा मलाई आश्रय चाहिएको थियो, त्यो मैले पाएँ । महिन्दरले त्यो ठाउँ दियो । मलाई मन पर्‍यो, देवाले मलाई भनेर चिठ्ठी पठाएको थियो रे । तर महिन्दरले त्यो कुरा लुकाएछ मसित । ऊ कपटी देखियो । कपटी मान्छे मलाई सुहाउँदैन । देवा असल छ, उसले बेइमानी गरेको छैन । उसले मनटुटियालाई आफ्नै छोरी मानेको छ, राम्रै गरी मलाई राख्ला । लोग्ने भनेको लोग्ने नै हो, भगवान्ले मिलाइदिएको छ ।
कथा घटनाको निष्कर्ष दिन सक्षम भए पनि वास्तविक जीवनमा यो निकै कठिन देखिएको छ । चन्दनको बाबु को ? अदालतले डीएनए परीक्षण गराएर तथा अन्य प्रमाण जुटाएर यसको फैसला गर्ला । तर, मीना नवलोग्नेसँग नै बस्न राजी भए भने पञ्च वा प्रशासनले केही गर्न सक्छ र –
वैदेशिक रोजगारमा जाँदा आफ्ना आमाबाबुभन्दा कोही विश्वासपात्र हुँदैनन् । अरू साथीभाइ हेरचाहको जिम्मेवारी दिने बखतमा होसियार नभएकाहरूको पत्नी हरण हुने गरेको देखिन्छ । मानवअधिकारीकर्मी मदन झा भन्छन्, ‘विदेश जानुअगावै कम्तीमा स्वास्नीलाई मोबाइल चलाउन सिकाएर एउटा सेट दिएर जानु उत्तम हुन्छ । समयअनुसार श्रीमतीको हालचाल आफंैले सोधेमा अरूले हरण गर्ने सम्भावना निकै कम हुने देखिन्छ ।’
वैदेशिक रोजगारमा सबभन्दा अगाडि रहेको धनुषा, महोत्तरीमा जस्तै यस्ता उत्तेजक घटना तराईका अन्य ठाउँमा पक्कै नभएको होला भन्न गाह्रो छ । वैदेशिक रोजगारमा अगाडि रहेका मधेसका जिल्लामा यस्ता घटना विस्तारै माकुरोको जालसरह फैलिन थालेका छन् ।
वैदेशिक रोजगारमा रहेकाहरूका स्वास्नी मात्र नभई गाउँघरमै विपन्नतामा बाँचिरहेकाहरूका स्वास्नी वैदेशिक रोजगारबाट फर्केकासँग भाग्न आतुर हुन्छन् । तराई मधेसका कथा पुस्तकमा समेटिएको रमेश रञ्जनको कथा ‘फुलवा-हरण’ कथाको अन्तिम अनुच्छेदले यस कुराको पुष्ट्याइँ गर्छ ।
कुरो के भएछ भने उसकी स्वास्नी अरबबाट कमाएर आएको एउटा केटोसँग भागिछे । बहुलाहाझैँ चिच्याउँदै गरेको रामस्नेही बाँसुरीझैँ मसिनो आवाज लाउडस्पिकरको आवाजलाई छेड्दै दर्शकसम्म पुगिरहेको थियो । दर्शकहरू छक्क परेका थिए । मञ्चमा सूत्रधार आएर ‘फुलवा-हरण’ समाप्त भएको घोषणा गर्‍यो । मतिशून्यझैँ भइसकेको रामसिनेही चिच्याउन थाल्यो, ‘अँ, फुलवा-हरण….फुलवा-हरण भयसक्यो…. ।’ आवाज मन्द हुँदै गयो र अन्त्यमा बन्द भयो ।