जर्मनी र स्वीडेनपछि युरोपेली युनियनले पनि दियो युक्रेनलाई हतियार

जर्मनी र स्वीडेनपछि युरोपेली युनियनले पनि दियो युक्रेनलाई हतियार


वार्ता र प्रतिकार सँगसँगै गर्ने युक्रेनको रणनीति

रुसी सेनाको वायु तथा स्थल हमलालाई काउन्टर दिन युरोपेली देशहरुले युक्रेनलाई हतियार सहयोग गर्ने भएको छ । किभको अनुरोधमा इयुले लडाकु जेट पठाउने तयारी गरेको इयुका विदेशनीति प्रमुख जोसेप बोरेलले बताएका छन् ।

‘हामीहरुले लडाकु जेटसमेत प्रदान गर्न लागिरहेका छौँ । हामी केवल हतियारको मात्र कुरा गरिरहेका छैनौँ, युक्रेनलाई युद्धमा जान आवश्यक अझै बढी महत्वपूर्ण हतियार प्रदान गरिरहेका छौँ’, पत्रकार सम्मेलनमा उनले भनेका छन् ।

यसअघि युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशलाई युक्रेनी सेनाले सञ्चालन गर्न सक्ने खालका लडाकु विमानहरू आवश्यक भएको र केही सदस्य राष्ट्रहरूसँग त्यस्ता विमान भएको बताएका थिए । जर्मनीले युक्रेनलाई मद्दत गर्न एक हजार एन्टिट्याङ्क हतियार र भूमिबाट वायुमा मार हान्न प्रयोग हुने स्टिङगर ५ सय थान पठाएको छ ।

त्यस्तै, स्वीडेनले पनि युक्रेनलाई हतियार सहयोग प्रदान गरेको छ । सन् १९३९ मा हिटलर र स्टालिनले फिनल्याण्डमा आक्रमण गरेपछि स्वीडेनले पहिलो पटक युद्ध क्षेत्रमा हतियार पठाएको हो ।

राष्ट्रसंघअन्तर्गतको शरणार्थीसम्बन्धी निकायले रुसी हमलामा दशौँ हजार विस्थापित भएको जनाएको छ । अधिकांश मानिस पोल्यान्डमा शरण लिइरहेका छन् । त्यसबाहेक हंगेरी, रोमानिया, मोल्डोभा र स्लोभाकियामा आश्रय खोजिरहेका छन् । यसैबीच, क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले युद्धबाट बच्न नागरिकहरूलाई कोरिडोर बनाउन आह्वान गरेका छन् ।

यसै क्रममा रुसी आक्रमणको विरुद्धमा सशक्त प्रतिकार गरेर मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम राख्दै युक्रेनले रुससँग छलफल गर्दै अगाडि बढ्ने बाटो खोज्न थालेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षाप्रमुखहरूलाई आणविक ‘प्रतिरोधी बल’लाई उच्च सतर्कतामा राख्न आदेश दिएपछि युक्रेनले वार्ता र प्रतिकार सँगसँगै लैजान खोजेको हो ।

बेलारुसँगको सीमामा रहेको चेर्नोवाइल क्षेत्रमा रुससँग वार्ता गर्न युक्रेन तयार भएको छ । युक्रेनी नेता भोलोदिमिर जेलेन्स्की र बेलारुसका नेता अलेक्जेन्डर लुकाशेन्कोबीचको वार्तापछि किभ मस्कोसँग वार्ता गर्न तयार भएको हो ।

यसअघि किभले बेलारुससँग वार्ता गर्न अस्वीकार गरेको थियो । रुसले युक्रेनमा हमला गर्नुअघि रुसी सेना त्यहाँ तैनाथ थिए । त्यसअघि रुस र बेलारुसबीच बृहत सैनिक अभ्यास भएको थियो ।

रुसको फौजले गति गुमाएको र युक्रेनी सेनाको सशक्त प्रतिरोधपछि उसलाई रसद र आपूर्तिमा समस्या भइरहेको छ ह्वाइट हाउसले दाबी गरेको छ । रूसी सेनाले हवाइ सर्वोच्चता कायम गर्न विफल भएको पनि अमेरिकी अधिकारीले दाबी गरेका छन् ।

युक्रेनले आफ्नो देशको पूर्वमा रहेको दोस्रो सहर खार्किभबाट रुसी सेनालाई धपाएको दाबी गरेको छ । आफ्नो सुरक्षा क्षेत्रमा प्रवेश गरेका रुसी बख्तरबंद सवारीसाधनहरूलाई आउन नदिएको युक्रेनको भनाइ छ ।

देशले राजधानी किभ वरपरको रेखामा पकड कायमै राखेको तर शहरमा घुसपैठ गर्ने रूसी ‘तोडफोड समूह’सँग लडिरहेको युक्रेनको भनाइ छ ।