अल्डरशट । गत बुधबार अल्डरशटको अल्डरशट सिमेटरीमा एउटा अन्तेष्टी कार्यक्रम सम्पन्न भयो । जुन कार्यक्रममा शोक सन्तप्त परिवारवाट जुन किसिमको सन्देश बेलायती नेपालीसमा गयो, त्यो आफैमा अति नै अनुकरणीय छ । शोक सन्तप्त परिवारले अन्तेष्टी हुने मिति, समय र स्थानको जानकारी दिन गरिएको मोवाइल सन्देशमै सबैजनालाई फूल नल्याउन र ईच्छा भएमा केही पेनी वा पाउण्ड बृटिश हार्ट फाउण्डेशनको च्यारिटी बक्समा चढाउन सक्ने भनिएकोथियो । मलामी आउनेहरूमध्ये एक दुईजनाबाहेक कसैका हातमा फूलमाला वा खादा थिएन । कार्यक्रममा उद्धघोषकले कसैलाई पनि खादा, फूल नचढाउन र फोटो न खिच्नसमेत अनुरोध गर्दै सबैलाई परिवारबाटै उपलव्ध गराईएको एक थुँगा फूल र एक चिम्टी माटो वितरण गरेकाथिए । सबै मलामीहरूले त्यो फूल र माटो मृत शरीरमा अर्पण गरेपछि आफू ईच्छाले दान बक्समा दान गर्दै अगाडि बढेकाथिए ।
यसरी जम्मा भएको सम्पूर्ण रकम बृटिश हार्ट फाउण्डेशनलाई दिने परिवारले अगाडि नै घोषणा गरेको छ। यो बेलायतको नेपाली समाजमा एउटा अति महत्वपूर्ण शुरूवात र उदाहरण अबका दिनमा सबैले अनिवार्य गर्नु गराउनु पर्ने देखिन्छ । किनकि आजकल कुनै पनि नेपालीको अन्तेष्टीमा भाग लिन विदाको दिन परेमा हजार पन्द्र सय र कामको दिन परेमा ५०० मानिस जम्मा भै हाल्छन् । ती सबैले एक गुच्छा फूल र एउटा खादा चढाउँदा खर्च कम्तीमा ६ पाउण्ड हुन्छ भने त्यसलाई फ्याक्ने व्यवस्था शोक सन्तप्त परिवारले नै गर्नु पर्दछ । समस्या यति सम्मकि, कतिपय सेमेटरीमा त नेपालीको भीड बढी हुने र चढाईएका फूल व्यवस्थापनका लागि दुःख हुने हुंदा बुकिङ गर्न जाँदा विभिन्न किसिमका शर्त नै तेस्र्यान्छन् । यसकारण हिजो अल्डरशटमा जुन किसिमबाट अन्तेष्टी कार्यक्रम सम्पन्न भयो, यो सबै जाति र धर्मका नेपाली समाजले शुरू गरिदिएमा अनेक कारणबाट नेपाली समाजलाई नै फइदामन्द हुने देखिन्छ ।
प्रतिक्रिया