निवासमै पत्रकार बोलाएर प्रचण्डले यसरी गरे ‘लाज ढाक्ने’ प्रयत्न !

निवासमै पत्रकार बोलाएर प्रचण्डले यसरी गरे ‘लाज ढाक्ने’ प्रयत्न !


‘संविधान डिरेल हुने अवस्था आएपछि एमसीसी अनुमोदनमा सहमति जनाएँ’

माओवादी केन्द्र अध्यक्ष प्रचण्डले आफू र आफ्नो पार्टीले एमसीसी अनुमोदन गर्न नहुने नबताएको स्वीकार गरेका छन् ।

खुमलटारस्थित निजी निवासमा सोमबार अपरान्ह पत्रकार भेटघाट कार्यक्रम राखेर प्रचण्डले राष्ट्रिय सहमतिमा मात्र एमसीसी अनुमोदन गर्नुपर्ने बताएको जिकिर गर । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पुरानै अडान लिइरहँदा राष्ट्रिय सहमति कायम नभएको आरोपसमेत उनले लगाए ।

सडकमा समेत नाराबाजी भइरहेको अवस्थामा गठबन्धन विघटन हुनेदेखि सरकार परिवर्तनसम्मको खेल हुन थालेपछि संविधान नै डिरेलको अवस्थामा पुग्न थालेको महसूस गरी एमसीसी अनुमोदन गर्न सहमति जनाएको उनको तर्क थियो ।

संशोधन र परिमार्जन गरेर मात्र एमसीसी अनुमोदन गर्नुपर्ने आफूले बताउँदै आए पनि प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणापत्र जारी गरेर सदनबाट पारित गराउन माओवादी केन्द्रले सहमति जनाएको प्रचण्डले बताए ।

भियना सन्धिअनुसार पनि प्रतिनिधिसभाबाट घोषणा गरिएको अर्को पक्षले स्वीकार्नुपर्ने देखिएकाले आफूले सहमति जनाएको भन्दै उनले एमसीसी सम्झौता अनुमोदन महाकाली सन्धिजस्तो नरहेको तर्क गरे । तर उनले दाबीअनुसार अमेरिकाले स्वाीकार गर्ने सम्भावना नरहेको विज्ञहरुले औंल्याएका छन् ।

‘प्रतिनिधिसभाबाट घोषणा भएको अर्को पक्षले स्वीकार्नुपर्ने र नस्वीकारे स्वतः खारेज हुने अन्तर्राष्ट्रिय कानुनका ज्ञाताको सुझाव आएपछि आफूले शीर्षनेताहरूमाझ राखेँ,’ उनले भने, ‘यसबारे काठमाडौंस्थित अमेरिकी दूतावासलाई पनि जानकारी दिएर अनुमोदन गरिएको हो ।’

अन्तर्राष्ट्रिय कानुनअनुसार मान्यता पाउने गरी संविधान, देशलाई बचाएर प्रतिनिधिसभा घोषणापत्र जारी गरेर एमसीसी अनुमोदन गरेपछि आफू खुसी भएको प्रचण्डको भनाइ छ ।