‘जीटूजी’ प्रक्रिया अपनाएर भारतबाट नेपालमा युरिया र डिएपी मल आपूर्ति गरिने

‘जीटूजी’ प्रक्रिया अपनाएर भारतबाट नेपालमा युरिया र डिएपी मल आपूर्ति गरिने


भारत र नेपाल सरकारबीच समझदारी पत्रमा हस्ताक्षर

भारतबाट नेपालतर्फ जीटूजी व्यवस्थामार्फत युरिया र डिएपी मलको दीर्घकालीन आपूर्तिका लागि भारत र नेपालबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

भारतका तर्फबाट भारत सरकार रसायन एवम् मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदी र नेपालका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले सो समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा सोमबार (फाल्गुण १६) आयोजित एक भर्चुअल समारोहका क्रममा दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर एवम् समझदारीपत्रको आदानप्रदान भएको हो । सो समारोहमा सम्बन्धित मन्त्रालय र भारतीय तथा नेपाली दूतावासका अधिकारीहरूको पनि सहभागिता थियो ।

हस्ताक्षर समारोहमा बोल्दै सचिव राजेश कुमार चतुर्वेदीले भारत र नेपालबीचको निकट एवम् बहुपक्षीय सम्बन्धको चर्चा गर्दै दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पुऱ्याइ कृषिको क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने अपेक्षा गरे ।

दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याइ नेपाली किसानलाई लाभ प्रदान गर्ने अपेक्षा लिइएको छ । यो समझदारीपत्र भारत र नेपालबीचको द्विपक्षीय आर्थिक सहकार्यमा अर्को कोशेढुङ्गाको रूपमा रहको र भारतले नेपाललाई दिएको प्राथमिकतालाई पनि यसले प्रतिबिम्बित गर्ने जनाइएको छ ।