बाबुरामले पार्टी कब्जा गर्न खोजेपछि जसपामा तनाव !

बाबुरामले पार्टी कब्जा गर्न खोजेपछि जसपामा तनाव !


कार्यकारी अध्यक्ष नपाएमा बाबुराम भट्टराई जसपा संसदीय दलको नेता बन्ने खेलमा छन् र, उल्लिखित दुईमध्ये एउटा पद पनि नपाएमा भट्टराईले पार्टी विभाजन गर्ने निश्चितप्रायः छ ।


उपेन्द्र यादव आफैं एमसीसी अनुमोदनको पक्षमा उभिएपछि जसपाका नेता बाबुराम भट्टराई स्तब्ध र दुःखी भएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । माओवादी पार्टी एमसीसी अनुमोदनको पक्षमा नजाने र माओवादी नगएको अवस्थामा उपेन्द्र यादव पनि नजाने विश्वासमा बाबुराम थिए । पार्टीका उन्नाइसमध्ये कम्तिमा तेह्र सांसद उपेन्द्रको विपक्षमा आउने र यिनैको बलमा उपेन्द्र यादवलाई तल पारेर आफू संसदीय दलको नेतासहित पार्टीको कार्यकारी अध्यक्ष बन्ने योजनामा उनी थिए । तर अन्तिम चरणमा अचानक परिस्थिति बेग्लिएपछि भट्टराई चित परेका हुन् ।

भनिन्छ, केही समययता बाबुराम भट्टराईले उपेन्द्र यादवलाई पार्टीको कार्यकारी अध्यक्षबाट हटाएर या उनीभन्दा माथि रहने गरी जिम्मेवारी पाउन अनेक प्रयास गर्दै आएका छन् र, एमसीसीको विपक्षमा यादव उभिएको निहुँ बनाएर उनलाई बहुमतका आधारमा पन्छाउने अन्तिम तयारीमा भट्टराई थिए । कार्यकारिणी समिति र संसदीय दलको बहुमतबाट यादवलाई दुवै पद (कार्यकारी अध्यक्ष र संसदीय दलको नेता) बाट मुक्त गर्ने उद्देश्यले नै भट्टराईले हस्ताक्षर अभियान पनि चलाएका थिए । प्राप्त जानकारीअनुसार जसपामा यतिबेला बहुसङ्ख्यक नेताहरू उपेन्द्र यादवको विरुद्धमा छन् र, बाबुराम यादवलाई अपदस्थ गरेर पार्टीको सर्वेसर्वा बन्न चाहन्छन् । तर उनी गैह्रमधेशी मुलका व्यक्ति भएकोले पार्टीको मूल नेता बनाउन अधिकाङ्श नेता तथा कार्यकर्ताहरू झस्किरहेका छन् । राजनीतिक एवम् वैचारिक दृष्टिले पार्टीमा अन्तरविरोध नभए पनि उक्त पार्टी (जसपा) ले क्षेत्रियताकेन्द्रीत सोच राख्दै आएको विदित नै छ । त्यसैले गैह्रमधेशी कित्ताका बाबुरामलाई सर्वेसर्वा बनाउन जसपाका केही नेताहरू हिच्किचाइरहेका छन् ।

पार्टीको मूल जिम्मेवारीबाट पन्छाउने र गौर हत्याकाण्डको मुद्दा उठाएर उपेन्द्रलाई ‘समाप्त’ गरिदिने गुप्त योजनामा लागेका बाबुरामले अहिले पनि आफ्नो सोच नबदलेको बताइन्छ । उपेन्द्रलाई पूर्ण रुपले विस्थापित गर्न नसकेको अवस्थामा रिक्त कार्यकारी अध्यक्ष पद आफैंले लिने र आफूले नसके आफ्नो अनुकुलका व्यक्तिलाई बनाएर उपेन्द्रको भूमिका र कद घटाउने योजनामा बाबुराम रहेका छन् । तर बाबुरामको यस्तो योजना अर्का नेता राजकिशोर यादवको साथ-सहयोगविना सम्भव हुने ठानिँदैन । राजकिशोर भने कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिने अडानमा रहेका बुझिन्छ ।

भट्टराईनिकट एक सूत्रले जनाएअनुसार उनले राजकिशोरलाई आफ्नो टीममा सामेल गराउन अनेक प्रयास गरिरहेका छन् । एमसीसी मुद्दामा राजकिशोरको साथ बाबुरामलाई भए पनि बाबुरामको पार्टी विभाजन गराउने योजनामा यादवको साथ नरहने स्पष्ट भइसकेको छ । पार्टीको चौँतीस सदस्यीय कार्यकारिणी समितिमा बाबुराम भट्टराईका खास हिमायतीहरूको सङ्ख्या आठ रहेको छ भने पहिले राजपापट्टिबाट जसपामा सामेल भएका दशमध्ये पाँच जनाको समर्थन पनि बाबुरामलाई मिलेको छ । गजाधर यादव, महेन्द्र यादव, रामनरेश यादव, अमृता अग्रहरी र रमेश यादवको पूरा साथ बाबुरामलाई मिलेको छ । त्यसमा इस्तियाक राइ, हेमराज राई र युवराज कार्कीले समेत भट्टराईको समर्थन गरेमा उपेन्द्र यादव रक्षात्मक र राजकिशोर यादव निर्णायक अवस्थामा पुग्ने देखिन्छ ।

जसपाको विधानमा एक सङ्घीय अध्यक्ष, दुई कार्यकारी अध्यक्ष र दुई सहअध्यक्ष रहने व्यवस्था छ । महन्थ ठाकुरनेतृत्वको समूह अलग्गिएर लोसपा बनेपछि जसपामा एउटा कार्यकारी अध्यक्ष र एक सहअध्यक्ष रिक्त रहेको छ । सोही रिक्त कार्यकारी अध्यक्ष पद हात लगाउन भट्टराईले लामो समयदेखि प्रयास गर्दै आएका हुन् । उपेन्द्र यादव उक्त पदपूर्ति नगर्ने पक्षमा थिए, ठाकुरका लागि राखिएको उक्त पदीय जिम्मेवारीमा अन्य कसैलाई चयन गर्न आवश्यक नभएको भनाइ उपेन्द्रको हो । तर उक्त पद लिएर जसपामा रजाइँ गर्ने प्रयत्न भट्टराईबाट भएको र उनले जिद्दी छोडेको स्थितिमा अशोक राईलाई कार्यकारी अध्यक्ष बनाएर पार्टी एकता जोगाइने सम्भावना रहने देखिन्छ । होइन भने जसपा यतिबेला विभाजनको नजिकै पुगेको छ ।

कार्यकारी अध्यक्ष नपाएमा बाबुराम भट्टराई जसपा संसदीय दलको नेता बन्ने खेलमा छन् र, उल्लिखित दुईमध्ये एउटा पद पनि नपाएमा भट्टराईले पार्टी विभाजन गर्ने निश्चितप्रायः छ । राजकिशोर यादवले पार्टी एकता जोगाउन सकेनन् भने उक्त पार्टी विभाजित हुने निश्चित मानिन्छ । र, जसपा यदि फुट्यो भने बाबुराम जहाँ हुन्छन् त्यहाँ अनिष्ट आउँछ भन्ने कुराको पुनः पुष्टि हुनेछ ।