मन्त्रिमण्डल पुनर्गठन हुँदै

मन्त्रिमण्डल पुनर्गठन हुँदै



वर्तमान सत्ता गठबन्धन जोगिएपछि सम्बद्ध नेताहरूले मन्त्रिमण्डल पुनर्गठनको मानसिकता बनाएका छन् । परिस्थिति बदलिएको र संसदीय निर्वाचनको समय छोटिँदै गएकोले मन्त्रीका कामहरूको मूल्याङ्कन गरी केहीलाई निरन्तरता दिने र केहीलाई बिदा दिइने भएको छ । मन्त्रिमण्डलका सदस्यहरूमध्ये अर्थमन्त्रालय अन्य कसैलाई जिम्मा दिने सोच देउवाले बनाएको बुझिएको छ । ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थको जिम्मा लगाउने या कुनै विज्ञलाई मन्त्री बनाउने भन्ने विषयमा यकीन भइसकेको छैन । प्रचण्डसँगको सहमतिपश्चात यस कुराको टुङ्गो लाग्ने बताइएको छ ।

मन्त्रीहरूमध्ये परराष्ट्रमन्त्री डा. नारायण खड्का, कानून र सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पर्यटनमन्त्री प्रेम आले र ऊर्जामन्त्री पम्फा भुसालको कामबाट प्रधानमन्त्री सन्तुष्ट रहेको सम्वद्ध सुत्रले जनाएको छ । बाँकी मन्त्रीहरूमध्ये अधिकाङ्शले ‘चुनावी सरकारको हैसियत’ प्रमाणित गर्न नसक्ने ठम्याइ गठबन्धनमा सामेल सबै नेताहरूको छ । त्यसैले अबको पुनर्गठनले अधिकाङ्श नयाँ अनुहारलाई मौका दिने सम्भावना छ । स्थानीय निर्वाचनभन्दा अगाडि नै मन्त्रिमण्डल पुनर्गठन हुने बुझिएको छ ।

पुनर्गठनले गृहमन्त्री बालकृष्ण खाणको ‘पोर्टफोलियो’ परिवर्तन गर्ने र, उनको स्थान नेता प्रकाशमान सिंहले लिने सङ्केतहरू देखिएका छन् । त्यो अवस्थामा खाणलाई रक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त हुने सम्भावना छ । जसपाबाट मन्त्री बनाइएकाहरू मध्ये सबैलाई परिवर्तन गरिने बुझिएको छ ।