आन्तरिक सङ्कटमा माओवादी !

आन्तरिक सङ्कटमा माओवादी !



एमसीसी अनुमोदनपछि माओवादी केन्द्रको आन्तरिक एकतामा सङ्कट उत्पन्न भएको छ । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ निकटकी सांसद अञ्जना विसङ्खे र नेता गिरिराजमणि पोखरेलले प्रचण्डको चाहनाविपरीत अनुमोदनको विपक्षमा मतदान गरेसँगै उक्त पार्टीभित्र तनाव बढेको हो ।

कृष्णबहादुर महरालगायत पाँच सांसदहरूले मतदानमा सहभागिता जनाएका थिएनन् र, एमसीसी अनुमोदनपछि माओवादी विभाजित हुने अनुमान गरिएको थियो । तर प्रचण्डले आफूनिकटका अधिकाङ्श नेताहरूलाई आफ्नो पक्षमा मिलाइसकेको बुझिएको छ । तर वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ तथा अन्य केही नेता भने प्रचण्डलाई क्षमा दिन नसकिने निष्कर्षमा पुगेको बताइन्छ ।

यसैबीच प्रचण्ड र श्रेष्ठ विभाजित हुने चर्चा केही दिनयता चलिरहेको छ । एमसीसी अनुमोदन गरेको भोलिपल्ट (गत सोमबार) प्रचण्डले नारायणकाजी श्रेष्ठ तथा एमसीसीको विपक्षमा रहेकाहरू माओवादीबाट अलग हुन सक्ने घोषणा गरेका थिए । यसरी आफ्नै पार्टीका असहमत नेताहरुलाई ‘बाटो लाग्न’ सुझाव दिने प्रचण्डले मंगलबार (फागुन १७ गते) नारायणकाजी श्रेष्ठसँग वार्तालाप गरेको बुझिएको छ । दुई नेताबीचको संवाद तार्किक निष्कर्षमा पुग्न सकेन भने माओवादी पार्टीमा विभाजन आउने प्रवल सम्भावना रहेको छ ।