भारतीय सहयोगमा निर्मित बहुउद्देश्यीय भवनहरूको उद्घाटन

भारतीय सहयोगमा निर्मित बहुउद्देश्यीय भवनहरूको उद्घाटन


कैलाली जिल्लाको धनगढीस्थित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास र शिक्षक भवनसहितको नयाँ भवन उद्घाटन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमारले संयुक्त रूपमा भवनको उद्घाटन गर्नुभएको हो ।

कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकारका अधिकारीहरूको उपस्थितिमा बुधबार आयोजित समारोहमा उद्घाटन गरिएको नयाँ भवन भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघिसारेको ‘æIndia@75 आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरू मध्येको एक रहेको बताइएको ।

सम्बद्ध पक्षले जनाएअनुसार भारत-नेपाल विकास सहकार्यअन्तर्गत ४ करोड २२ लाख ६० हजारको लागतमा उल्लिखित नयाँ भवनहरू निर्माण भएका हुन् । सन् १९८५ मा स्थापना भएको यो विद्यालयमा हाल ६६५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

ज्ञातव्य छ, सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभावी सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ भने ४६७ वटा परियोजना सम्पन्न गरिसकेको छ । कैलाली जिल्लाका आठसमेत गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा त्यस्ता परियोजना रहेका छन् । यसअलावा भारत सरकारले कैलाली जिल्लाका लागि आठ एम्बुलेन्स र ७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय र बहुक्षेत्रीय विकास साझेदारी रहेको छ । भारत–नेपाल विकास सहकार्यअन्तर्गत निर्माण भएको यस नवनिर्मित संरचनाले शिक्षाको क्षेत्रमा नेपाल सरकारका प्रयासहरूलाई अझ सशक्त बनाउन भारत सरकारले पु¥याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको दातृपक्षको भनाइ छ ।