समयमा शुल्क भुक्तानी नगर्ने एनसीसीहरूको मान्यता स्वतः समाप्त हुने

समयमा शुल्क भुक्तानी नगर्ने एनसीसीहरूको मान्यता स्वतः समाप्त हुने



गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२औँ बैठकले संघको १०औँ महाधिवेशन तथा नयाँ नेतृत्वको निर्वाचन, संरक्षक परिषद, उच्चस्तरीय समिति र पञ्जिकृत सदस्यता शुल्क नतिर्ने राष्ट्रिय समन्वय परिषद (एनसीसी) लगायत विषयमा छलफल गरी सर्वसम्मत निर्णय गरेको छ ।

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा भर्चुअल माध्यमबाट बुधबार सम्पन्न बैठकले पञ्जिकृत सदस्यता शुल्क नतिर्ने एनसीसी यूके, अमेरिका, अष्ट्रेलिया, जापान र क्यानाडालाई मार्च ६ तारिखसम्ममाा शुल्क भुक्तानी गर्न अवसर दिइने निर्णय गरेको छ । उक्त मितिभित्र शुल्क भुक्तानी नगरेको खण्डमा विधानको दफा १७.७ अनुसार यी एनसीसीहरूको मान्यता स्वतः समाप्त हुने चेतावनी दिइएको छ ।

छलफलपछि दिइएको जानकारीअनुसार नयाँ एनसीसीको निर्वाचन गर्नको लागि एक तदर्थ समिति गठन गरिनेछ । संघका अध्यक्ष, महासचिव, क्षेत्रीय संयोजक, सहसंयोजक र क्षेत्रीय महिला संयोजक रहेको एक समितिले तदर्थ समितिको गठनबारे निर्णय गर्नेछ ।

यस्तै, महाधिवेशन प्रतिनिधिको निकासको सुझाव दिन गठित उच्चस्तरीय समितिलाई ३ मार्च साँझ ५ बजे सम्म (मतदाताको अन्तिम नामावाली प्रकाशन गर्नुपूर्व) सर्वसम्मत वा लोकतान्त्रिक पद्धतिअनुसार प्रतिनिधिबारे सुझाव पेश गर्ने अन्तिम अवसर दिने प्रवक्ता डीबी क्षेत्रीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यस्तो अवस्था नरहेको खण्डमा आइसीसीको तर्फबाट अध्यक्षले निर्वाचन समितिलाई पेश गरेको प्रतिनिधिहरुबाट निर्वाचन अगाडि बढाइने छ र, उच्चस्तरीय समिति स्वतः विघटन हुनेछ ।

प्रवक्ता क्षेत्रीका अनुसार निर्वाचन अनुगमन गर्न एक समितिको गठन गरिनेछ । हालको संरक्षक परिषदलाई यसै बैठकदेखि लागू हुने गरी सधन्यवाद विघटन गरिएको छ । पूर्वनिर्धारित मार्च २१ र २२ तारिखमा हुने निर्वाचन र मार्च २६ र २७ तारिखमा काठमाडौँमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न गर्न सबै पक्षलाई अनुरोध गरिएको छ ।