निगमका कर्मचारीको पोशाक संरक्षण खर्च कटौती, बिक्रेता कमिसन यथावत

निगमका कर्मचारीको पोशाक संरक्षण खर्च कटौती, बिक्रेता कमिसन यथावत


  • रासस

आगामी १५ दिनमा साढे दुई अर्ब घाटा प्रक्षेपण

पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोरेको नेपाल आयल निगमले कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गरेको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले घाटा न्यूनीकरणमा कर्मचारीका तर्फबाट योगदान गर्ने उद्देश्यले पोशाक संरक्षण भत्ता कटौती गरेको हो ।

सञ्चालक समितिको निर्णयसँगै निगमका स्थायी कर्मचारीले पोशाक संरक्षण भत्ता पाउने छैनन् । पोशाक संरक्षण खर्च कटौती भएपछि वार्षिक करिब रु ५० लाख खर्च न्यूनीकरण हुने निगमको दाबी छ ।

यस्तै, निगमले बिक्रेता कमिसन पनि हाललाई स्थगित गर्ने निर्णय गरेको छ । यसबाट पेट्रोलियम पदार्थको मूल्य बढे पनि बिक्रेताले कमिसन बापतको अतिरिक्त मूल्य पाउने छैनन् । यही फागुन ७ गतेको मूल्यमा आधारित कमिसन मात्र बिक्रेताले प्राप्त गर्ने निगमले जनाएको छ ।

कमिसन नबढेपछि निगमको लागत केही हदसम्म घटेको बताइएको छ । बिक्रेताले मूल्य संरचनामा आधारित रहेर प्रतिलिटरको कायम मूल्यको करिब ३.३९ प्रतिशत कमिसन पाउँदै आएका छन् ।

यसै क्रममा पेट्रोलियम पदार्थको मूल्य बढे पनि आगामी १५ दिनमा करिब रु दुई अर्ब ५० करोड घाटा हुने निगमले प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको फागुन महिनासम्म करिब रु २८ अर्ब नोक्सानी हुने अवस्था देखिएको निगमले जनाएको छ ।

रुस-युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्य प्रतिव्यारेल १२० डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएसँगै निगमको घाटा पनि उत्कर्षतर्फ पुग्दै गएको बताइन्छ । निगमले पेट्रोलियम पदार्थ खरिदबापत भारतीय आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने रकम अपुग भएको भन्दै सरकारसँग सहयोग मागेको छ ।