अनर्गल प्रचारप्रसारप्रति नेपाली सेनाद्वारा खेद प्रकट

अनर्गल प्रचारप्रसारप्रति नेपाली सेनाद्वारा खेद प्रकट


कपोकल्पित सन्देश सम्प्रेषण गरिएकोमा आपत्ति

विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा नेपाली सेनासँग जोडेर कपोकल्पित सन्देश सम्प्रेषण भइरहेको भन्दै सैनिक मूख्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले एक सूचना जारी गर्दै केही समययता सैनिक मूल नेतृत्व एवं नेपाली सेनाका गतिविधिसँग सम्बन्धित फरक प्रसङ्ग र अवसरको फोटो तथा भिजुअल क्लिप प्रयोग गरी विभिन्न संवेदनशील विषयहरु भ्रमछर्ने काम भइरहेको जनाएको छ ।

आफ्नो निहीत स्वार्थ र नियत पूरा गर्न आम जनमानसमा भ्रम छर्ने उद्देश्यले विभिन्न संचारमाध्यमहरु विशेष गरी अनलाइन मिडिया तथा सामाजिक सञ्‍जाल (फेसबुक, टिकटक आदि)मा नक्कली परिचय बनाइ भ्रामक एवं कपोकल्पित समाचार एवं सन्देश सम्प्रेषण भइरहेको भन्दै सनाले गम्भीर ध्यानार्षण भएको जनाएको हो ।

देश र जनतालाई केन्द्रविन्दुमा राखि संविधान ऐन कानुनको परिधिभित्र बसी कानुन एवं विधिसम्मत चल्ने अराजनैतिक छवि भएको संस्थाको प्रतिष्ठा र नेतृत्वको निष्ठा एवं मर्यादामा समेत गम्भीर आघात पुर्‍याउने यस किसिमका अनर्गल प्रचारप्रसारप्रति नेपाली सेनाले खेद प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ । यस्ता भ्रमहरुबाट टाढा रहन र अरुलाई पनि टाढा राख्‍न लगाउन सेनाले अपिल गरेको छ ।