वोर्डन, बेलायत/ वस्तु उत्पादकहरुले उपभोक्ताहरुलाई अाफ्नो उत्पादन छिटो छरीतो तरीकाले पुर्याउन नयाँ प्रविधी गुगलको ‘डेलिभरी ड्रोन’ अर्थात चालकविहीन विमान हालै अस्ट्रेलियामा परीक्षण गरीएको छ । यसको साईज समुन्द्री बकुल्लाको भन्दा केही ठुलो छ । यस परीक्षण सफल भएमा आउँदा केही वर्षमा तपाईँले अनलाईन खरिद गर्नुभएको सामान केही समयमै तपाईँ बसेकै स्थानमा यस्तै सानो विमानले पुर्याइदिनेछ ।
डेलिभरी ड्रोन भन्नाले मानवविहीन हवाई यातायात साधन (अनम्यान्ड एरियल भेहिकल)लाई बुझाउँछ, जसलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले दूरसञ्चालित हवाईजहाज (रिमोटली पाइलटेड एयरक्राफ्ट) भनेको छ । सामान्यतया यस्ता विमानलाई त्यसमै रहेका कम्प्युटर वा जमिनमा रहेका वा अन्य गाडीमा रहेका विमान चालकले ‘रिमोट कन्ट्रोल’ द्वारा सञ्चालन गर्छन् । यसअघि यस्ता विमान दूरसञ्चालित हवाईजहाजका रूपमा रहेका र हाल यसको नियन्त्रणमा बढ्दो रूपमा स्वचालनपना आउन थालेको विकिपेडियाको धारणा छ ।
यस्ता विमानहरू विशेष गरी सैनिक र विशेष अभियानमा उपयोग गरिन्थ्यो भने हाल यसको प्रयोग प्रहरीको सहयोग, अग्नि नियन्त्रण, गुप्तचरी जस्ता कुरामा हुन थालेको छ । यसैगरी यस्ता विमानको प्रयोग मानवसहितको विमानले गर्न नसक्ने दिक्कलाग्दो, फोहरी तथा खतरात्मक (डल, डर्टी, ड्यान्जरस) थ्री जि काममा प्रयोग भइरहेको छ । गुगलले आफ्नो डेलिभरी ड्रोन निर्माण परियोजनाको नाम ‘प्रोजेक्ट विङ’ राखेको छ र यो उसको गोप्य एक्स प्रयोगशालामा विकास भएको हो । यसै प्रयोगशालामा उसले चालकविहीन गाडी तथा इन्टरनेटसँग सम्पर्क कायम हुने चस्मा विकास गरेको थियो ।आफैँमा उड्ने सवारीसाधनले सामानहरू सस्तो, छिटो, कम क्षतिमा तथा कम वातावरणीय जोखिमका साथ चाहेको ठाउँमा पुर्याउने नयाँ विधिको ढोका खोल्नसक्ने धारणा गुगलले उल्लेख गरेको छ ।
गुगलले चालकविहीन यस्तो विमानलाई प्राकृतिक प्रकोपका समयमा पहुँच विच्छेद भएको स्थानसम्म आपत्कालीन सामग्री वितरण गर्न उपयोग गर्न सकिने धारणा राखेको छ। गुगलले यस विमानलाई अस्ट्रेलियामा प्राथमिक उपचारका सामग्री, कुकुरको खाना, स्थानीय किसानलाई पानी वितरण गर्न उपयोग गरी परीक्षण गरेको थियो । यस परीक्षणमा यी विमानले करिब आधा माइलको दूरी तय गरेका थिए । यसो भए पनि यस संस्थाले यसलाई बजारमा उपलब्ध गराउन सक्ने गरी तयार गर्न अझै केही वर्ष लाग्ने धारणा राखेको छ । प्रविधिलाई चुनौतीमुक्त गर्नु एक प्रकारको चुनौती भए पनि त्यहाँ अन्य प्रकारका निकै चुनौती छन्। गुगल तथा अमेजन दुबैले यस विषयमा अमेरिकी सरकार तथा उनीहरूले यस्तो विमान सञ्चालन गर्ने अन्य मुलुकका सरकारसँग अनुमति प्राप्त गर्नु आवश्यक छ ।
हाल यस प्रशासनले सामान्यतया व्यक्तिगत अभिरुचिका लागि यस प्रकारको काम गर्ने व्यक्ति तथा नमुना विमान निर्माण गर्ने संस्थालाई चालकविहीन विमानको परीक्षण उडानका लागि अनुमति दिएको छ । उसले व्यापारिक प्रयोजनका चालकविहीन विमानको उडानमा प्रतिबन्ध लगाएको छ । गुगलको एक्स प्रयोगशाला नवीन अनुसन्धानबाट यातायात, स्वास्थ्य तथा सञ्चारको क्षेत्रका समस्या समाधान गरी समाज विकास गर्ने उद्देश्यले स्थापना भएको प्रयोगशाला हो । यसो भए पनि यस प्रयोगशालामा भएका क्रियाकलापमा हुने वित्तीय खर्चको पारदर्शीपना तथा यस्ता लगानीको सफलताका विषयमा यो प्रयोगशाला आलोचनाको विषय बनेको छ । यस प्रयोगशालाले उत्पादन गरेको गुगल चस्माले कुनै व्यक्तिलाई जानकारी नदिइकनै उसको भिडियो तथा चित्र लिने भएकाले यसबाट व्यक्तिगत गोपनीयता उल्लङ्घन हुनसक्ने कुराहरु पनि गरिएको छ ।
इएण्डटीले प्रोजेक्ट विङ म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीको एरोनाउटिक्सका प्राध्यापक निक रायको नेतृत्वमा रहेको टोलीले विकास गरेको जानकारी दिएको छ । उहाँ गत दुई वर्षदेखि यस प्रविधिमा काम गरिरहनुभएको र यस परियोजनाको लागत सार्वजनिक नगरिएको जानकारी दिइएको छ । यसैगरी गुगलको एक्स प्रयोगशालामा तयार भएको कार चालकले आफ्नो गन्तव्य टाइप गरी वा उच्चारण गरी गाडीमा रहेको कम्प्युटरलाई आदेश दिएर चलाउन सकिन्छ । यो कार विद्युतबाट सञ्चालन हुन्छ र एकपटक चार्जगरेपछि १६० किलोमिटर चल्नसक्छ । यसमा अगाडिको भागमा परम्परागत बम्परको स्थानमा नरम गद्दाजस्तो सामग्री राखिएको छ । यसबाट बटुवाको सुरक्षामा ध्यान दिइएको दाबी यस संस्थाले गरेको छ । यसको हाल अधिकतम गति ४० किलोमिटर प्रतिघण्टा राखिएको छ । यो गुगलको बाटोको नक्सायुक्त सफट्वेयरको आधारमा चल्ने गर्छ।
गुगलको गाडीमा प्रयोग हुने लेजर प्रविधि उत्पादन गर्ने भेलडाइन इन्कका प्रमुख कार्यकारी अधिकृत डेभिड हलले यो गाडी दुर्घटनाग्रस्त भए यसको बिमा कसले तिर्ने भन्ने विषयमा समस्या भएको वाल स्ट्रिट जर्नललाई बताउनुभयो भएको छ । यसैले क्यालिफोर्नियाको प्रशासनले यस्ता चालकविहीन गाडीलाई सडकमा परीक्षणका लागि उतार्नु पहिले कुनै पनि दुर्घटनाविरुद्ध ५० लाख अमेरिकी डलरको बिमा गर्नुपर्ने अडान लिएको बताइएको छ ।
प्रतिक्रिया