कालिकोटका व्यापारीको सुर्खेतमा मृत्यु : प्रहरीको कुटाइबाट मृत्यु भएको हुन सक्ने आफन्तको आशंक

कालिकोटका व्यापारीको सुर्खेतमा मृत्यु : प्रहरीको कुटाइबाट मृत्यु भएको हुन सक्ने आफन्तको आशंक


सुर्खेतमा कालिकोटका एक व्यापारीको मृत्यु भएको छ । नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदा गरेका कालिकोट तिलागुफा नगरपालिका-३ का २५ वर्षीय मीन हमालको मृत्यु भएको हो ।

व्यापारी हमाल नेपालगञ्जबाट शुक्रबार बेलुका ट्रकमा सामान राखेर कालिकोट जाँदै थिए । त्यही क्रममा सुर्खेत वीरेन्द्रनगरस्थित सुब्बाकुना प्रहरी चेकपोष्टमा सामान बढी हालेको विषयमा प्रहरीसँग वादविवाद भएको थियो । विवादकै क्रममा प्रहरीले कुटेको हमालको आफन्तको आरोप छ ।

नेपालगञ्जबाट भे१क ९२२ नम्बरको ट्रकमा सामान लिएर हिँडेका उनलाई सुब्बाकुना प्रहरीले मरणासन्न हुने गरी कुटेको आफन्तको आरोप छ ।

मृतकका काका कलमबहादुर हमालका अनुसार गाडीका दुई जना स्टाफलाई प्रहरीले कुटेपछि यसो नगर्न हमालले आग्रह गरेका थिए । यसो नगर्न भनेपछि उनीमाथि नै प्रहरी जाइ लागेको कमलबहादुरले बताए । ‘प्रहरीले तल्लो पेट र अण्डकोषमा प्रहार गरेको थियो’, उनले भने ।

हमालको शव सुर्खेत हस्पिटलमा राखिएको छ । कालिकोटबाट आफन्त आउँदै गरेको जनाएका छन् । हमालको मृत्यु शंकास्पद भएकाले छानबिनको माग गरेको मृतकका छिमेकी रनबहादुर खत्रीले बताए ।

के कति कारणले मृत्यु भयो भन्ने बारे अनुशन्धान भइरहेको सुर्खेत प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले बताए । ‘कुटपिटपछि मृत्यु भन्ने खबर आयो ।’ उनले भने, ‘विस्तृत विवरण बुझ्दैछौं । अनुसन्धानपछि सबै खुल्नेछ ।’

हमालको कालिकोटका तिलागुफा नगरपालिका-१ मा व्यापार गर्दै आएका थिए ।