नवलपुर कांग्रेस सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत

नवलपुर कांग्रेस सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत


  • आरपी उपाध्याय, नवलपरासी

नेपाली कांग्रेस नवलपुरको सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत चयन भएका छ्न् । शुक्रबार मनोनयन समय सकिनु केही समयअगाडि अर्का उम्मेदवार बालकृष्ण घिमिरेले उपसभापति पदमा मनोनयन गर्ने गरि सहमति भएसँगै सभापति पदका उम्मेदवार महेन्द्रध्वज जिसी सर्वसम्मत चयन भएका हुन् ।

जिसी सर्वसम्मत भएको आधिकारिक घोषणा भइसकेको छ । निर्वाचन कार्यालयका अनुसार सदस्यहरुमा एक नगरपालिकाबाट एक महिलासहित ३ जनाका हिसाबले चार वटा नगरपालिकाबाट १२ जना सदस्य, एक गाउँपालिकाबाट एक महिलासहित २ जना सदस्य रहने गरी चार गाउँपालिकाबाट ८ जना सदस्य छानिने छन् ।

त्यसैगरी खसआर्यबाट २ महिला र २ खुल्ला सदस्य, जनजातिबाट ३ महिला र ३ खुल्ला सदस्य गरी ६ जना सदस्य, दलितबाट १ जना सदस्य, थारुबाट १ महिला र एक खुल्ला गरी २ जना सदस्य र अल्पसंख्यक वा अपाङ्गताबाट १ जना सदस्य छनौट हुने छ । नवलपुर जिल्लामा १ हजार ९ सय ६१ जनाले जिल्ला अधिवेशनमा आफनो मत प्रयोग गर्ने बताइएको छ।

पार्टीका अन्य पदाधिकारी र सदस्यहरूलाई सर्वसम्मत चयन गर्नको लागि उम्मेदवारहरुको बीचमा छलफल कार्य चलिरहेको सचिव पदका उम्मेदवार होमराज राना भाटले जानकारी दिए । शनिबार साँझ ७ बजेसम्म उम्मेदवारी सर्वसम्मत नभएमा आइतबार बिहान ८ बजे मतदान कार्य सुरु हुने गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछानेले बताए । दुई कित्तामा उभिएको नवलपुर काङ्ग्रेसलाई सर्वसम्मत बनाउन केन्द्र तहसम्म पहुँच भएका केही नेताहरुले पहल गर्दै आएको पनि बुझिएको छ।