हतियारधारी भारतीय सुरक्षाकर्मीको सुस्ताप्रवेशले सुस्ताबासी त्रसित !

हतियारधारी भारतीय सुरक्षाकर्मीको सुस्ताप्रवेशले सुस्ताबासी त्रसित !


  • आरपी उपाध्याय, पश्चिम नवलपरासी

पश्चिम नवलपरासी नारायणी नदीपारीको सुस्तामा हतियारधारी भारतीय सुरक्षाकर्मी प्रवेश गरेका छन् । सुस्ता गाउँपालिका-५ नदीपारी सुस्तामा भारतीय अर्ध सैनिक बल एस.एस.बी.का आधा दर्जन हतियारधारीको प्रवेशले सुस्ताबासी त्रसित भएका छन् ।

सुस्तास्थित थारु टोलदेखि दक्षिणतर्फ रहेको दुल्हनिया खोला जोकाहाबाट नेपालभूमि प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई देखेपछि स्थानीय सुस्ताबासीले कडा विरोधसहित प्रतिकार गरेका थिए ।

हतियारसहित नेपालभूमि पसेका भारतीय सुरक्षाकर्मीले नेपाल-भारत अन्तर्राष्ट्रिय सिमाना हुँदै नेपालभूमि प्रयोग गर्दै उत्तरतर्फ जाने क्रममा खेतमा काम गरिरहेका सुस्ताबासी नेपालीले कडा विरोधसहित प्रश्न उठाएको सुस्ता बचाउ अभियानका अध्यक्ष आदम हुसेन खाँले जानकारी दिए ।

यसपूर्व पनि भारतीय अर्ध सैनिक बल एसएसबीले विभिन्न बाहाना बनाइ सुस्ता प्रवेश गर्ने गरेका थिए, यो अन्तर्राष्ट्रिय कुटनैतिकको मर्यादा उल्लंघनको सन्दर्भ भएको भन्दैचर्चाको विषय बन्दै आएको छ ।

यस सम्बन्धमा सशस्त्र प्रहरी बल नेपाल २६ नं. गण पश्चिम नवलपरासीले भारतीय सुरक्षाकर्मीहरु गस्ती गर्ने क्रममा सुस्ता आउने, सानो खोलामा पानी बढी भएकोले खोला तर्न नसकी कल्भटको डिलको बाटो हिँडेर नेपालभूमि प्रवेश गरेको र उनीहरूलाई तत्काल भारततर्फ नै फर्काइएको प्रतिक्रिया दिएको छ ।

सुस्ताभन्दा पूर्वतर्फको जङ्गल किनारमा रहेको सिमलको बोट र नेपालभूमिमा रहेको भिलोर बोटसम्म पनि भारतीय सुरक्षाकर्मीहरु गस्तीको क्रममा आउने गरेको पनि जानकारीमा आएको छ ।

ज्ञातव्य छ, सुस्तास्थित नारायणी नदी नियन्त्रणको लागि तटबन्ध निर्माण कार्य भारतीय सुरक्षाकर्मीकै विरोधका कारण स्थगित भएको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले बताएका छन् ।