निर्वाचन छल्न भित्रभित्रै खेलोफड्को चलेको नेम्वाङको आरोप

निर्वाचन छल्न भित्रभित्रै खेलोफड्को चलेको नेम्वाङको आरोप


प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङले सत्तारुढ दलहरू दुषित भएर गन्हाएको आरोप लगाएका छन् । इलाम काठमाडौं सम्पर्क मञ्चको ९औँ सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेता नेम्वाङले यस्तो आरोप लगाएका हुन् ।

विभिन्न संविधानविरोधि क्रियाकलापका कारण अहिलेको गठबन्धन सरकार दुषित भएको र त्यसैको कारण भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको समेत उनले बताए । विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरूले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछिसार्ने खेल खेलिरहेको उनको जिकिर थियो ।

‘एक दिनअघिसम्म एमसीसी मरे पनि टेबुल हुन दिन्नौँ र पास पनि हुँदैन भन्ने साथीहरुले नै भोलिपल्ट लुसुक्क जनतालाई झुक्याएर एमसीसी पास गर्ने लज्जास्पद कार्य गरे’ भन्दै नेम्वाङले थपे, ‘हाम्रा गठबन्धनका नेताहरुले लाजै पचाएर सभामुख र १४ जना संसद्को जागिर जोगाउन पनि एमसीसी पास गऱ्यौँ भनेको सुनियो, यो भन्दा दुषित र लाजमर्दो कुरा केही होइन । आफ्नो स्वार्थ पूरा गर्न राष्ट्रघाती कदम चाल्न पछि नपर्ने यस्तो गठबन्धन सरकारलाई अब जनताले चुनावबाट जवाफ दिनुपर्छ ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति संकेत गर्दै उपाध्यक्ष नेम्वाङले केही साथीहरू निर्वाचन भनेपछि किन डराउँछन् भनी प्रश्न गरे । प्रतिगमनको हौवा चलाउँदै भरसक जनतामा जाने मिति पर सार्ने गरेको औंल्याउँदै उनले भने, ‘बल्लबल्ल तपाईं-हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौँ तर अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ ।’

कार्यक्रममा नेकपा एमालेका राष्ट्रियसभा सदस्य अगमप्रसाद बान्तवाले पनि गठबन्धन सरकारले अराजनीतिक तथा गैरसंवैधानिक कदम चालेको र विभिन्न राष्ट्रघाती काम गरेको आरोप लगाए ।

कार्यक्रममा प्रदेश नम्बर १ का १४ जिल्लाका सम्पर्क मञ्चहरुबीचको फुटसल प्रतियोगितामा प्रथम हुने इलाम काठमाडौं सम्पर्क मञ्चका प्रतिनिधि खेलाडीहरुलाई सम्मान गरिएको थियो ।