बहराइनमा नेपाली उत्पादनको प्रवर्द्धन

बहराइनमा नेपाली उत्पादनको प्रवर्द्धन


  • तस्बिर रासस

बहराइनमा पश्मिना शल, चिया, हस्तकलाका सामग्रीलगायत नेपाली उत्पादनको प्रवर्द्धन गरिएको छ । मनामास्थित नेपाली दूतावासले सोही स्थानमा ती सामग्रीको हालै प्रवर्द्धन गरेको हो ।

बहराइन अधिराज्यको बालबालिका तथा मातृ कल्याण समाजको संयोजकत्वमा सञ्चालित अन्तर्राष्ट्रिय राजदूतावास मेलामा नेपालले पहिलोपटक सहभागी भएर आफ्ना उत्पादन प्रवर्द्धन गरेको उक्त दूतावासले आज जनाएको छ ।

कार्यक्रमका विशेष अतिथि बहराइनको राजपरिवारका सदस्य शेख लुल्वा विन्ट खलिफा अल खलिफाले नेपाल कक्षको अभिरुचिपूर्वक अवलोकन गरी पश्मिना शल तथा हस्तकलाका सामान खरिद गरेका थिए । अन्य आगन्तुकहरूले पनि नेपाल उत्पादनको प्रशंसा गर्दै चिया, पश्मिनालगायत सामग्री खरिद गरेका जनाइएको छ ।

कार्यक्रममा आगन्तुकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने प्रवर्द्धनात्मक सामग्री पनि प्रदान गरिएको थियो ।