सहकारी संस्थालाई ‘coop card’ जारी गर्न त्रिपक्षीय सम्झौता

सहकारी संस्थालाई ‘coop card’ जारी गर्न त्रिपक्षीय सम्झौता


ग्लोबल आइएमई बैंक लि., राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लि.बीच सहकारीहरूका लागि सहकारी पहिचानसहितको ‘coop card’ जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय सहकारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

वर्तमान परिवेशमा बढ्दै गएको सहकारीको भूमिका र कारोबारसमेतलाई मध्यनजर गर्दै सहकारीहरूले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रक्रियाका साथ ग्लोबल आइएमई बैंकको प्रायोजनमा ‘coop card’ जारी गर्न लागिएको हो ।

ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत यसका सदस्य सहकारीहरूले ‘coop card’ जारी गर्नेछन् । यसका लागि STC ले चाइना युनियन पे (UPI) सँग सहकार्य गर्दै आएको बताइएको छ ।

सहकारीका सबै सदस्यलाई सेवा पुऱ्याउँदै यसलाई अझ बढी प्रभावकारी तुल्याउन राष्ट्रिय सहकारी बैंक लि.को सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीलाई एउटै ब्राण्डको ‘coop card’ जारी गर्न लागेको हो । यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुनेछ भने नेपाल तथा भारतका ATM/POS मार्फत सहजै चलाउन सकिने जानकारी दिइएको छ ।

यस सहकार्यपश्चात सम्पूर्ण सहकारीहरूले राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी ‘coop card’ जारी गर्न सक्नेछन् । यस सुविधाले सदस्यहरूको सहकारीप्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रूपमा बचत परिचालन हुने र वित्तीय सेवा २४ घण्टा उपलब्ध हुनेछ ।

यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणाली र विद्युतीय कारोवारमा पहुँच बढ्दै जाने तथा साधारण बैंकिङ कारोवारको लागि बैंकसम्म गइरहनुपर्ने बाध्यताबाट उपभोक्तालाई मुक्ति दिने तथा सहकारीहरूको विकासमा थप योगदान पुग्ने आशा लिइएको सरोकारपक्षले जनाएको छ ।