एक करोड ५० लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

एक करोड ५० लाख नगदसहित हुण्डी कारोबारी पक्राउ


नेपाल प्रहरीले रु एक करोड ५० लाख नगदसहित दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-१३ ताहचलबाट हुण्डी कारोबारमा संलग्न काठमाडौं महानगरपालिका-१९ टङ्केश्वरीका २४ वर्षीय बिक्की खड्की र भारत पश्चिम बङ्गालका ३२ वर्षीय अमितकुमार अग्रवाललाई आइतबार पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

ताहचलमा डेरा गरी बस्ने अग्रवालले काठमाडौंको मख्खनमा बिमला इन्टरनेशनल प्रालि सञ्चालन गरी नक्कली गरगहनाको होलसेल कारोबार गरी बस्ने अग्रवाललगायत व्यक्तिले राजस्व छली गैरकानुनी रूपमा हुण्डीमार्फत वित्तीय कारोबार गर्दै आइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका खड्गीले कालीमाटीस्थित जीवनदृष्टि बहुउद्देश्यीय सहकारी संस्थाबाट रु ५० लाख ल्याएर अग्रवाललाई दिएपछि अग्रवालको कोठा तलासी गर्दा रु एक करोड ५० लाख फेला परेको प्रहरीको भनाइ छ ।

प्रहरीले पक्राउ अग्रवाल र खड्गीसँग विभिन्न बैंकका चेक, भौचर प्याड, कारोबारसम्बन्धी विभिन्न कागजात, दुई थान ल्यापटप र दुई थान मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।