मानिसका लागि काम लाग्ने मानिस नै हो

मानिसका लागि काम लाग्ने मानिस नै हो


कहिलेकाहीँ पैदल हिँड्नु पनि समाज र जीवन बुझने राम्रो तरिका सावित हुन सक्छ । केही दिनअघिको कुरो हो, डिजल-पेट्रोल नपाएर सडकमा लाइन लागेका गाडीका कारण गोल्फुटारको बाटो साँघुरो भएको थियो । जाममा फस्नुबाट बच्नका लागि बाँसबारी जानुपर्नेमा गल्फुटारको डिपार्टमेन्ट स्टोर प्राङ्गणमा गाडी थन्क्याई पैदल हिँडेँ ।
बासबारीको बाँसघारीनजिक रहेको हिन्दू धर्मावलम्बीहरूको कार्यालयअगाडि एउटा बस प्रतीक्षालय रहेछ । माथि साधारण छाना भएको त्यो सानो प्रतीक्षालय चारैतिरबाट खुल्ला रहेछ । म साँझपख त्यहाँ पैदल पुग्दा निकै जाडो थियो । त्यस्तो जाडोमा प्लास्टिक र थाङ्नाथाङ्नीबीच मैले करिब तीस वर्षकी महिला देखेँ । उनको मुख सुन्निएको थियो । गाला पटपट फुटेका थिए । हेर्दा यस्तो लाग्थ्यो धेरै दिनदेखि उनी त्यहाँ डेरा जमाएर बसेकी छिन् । यस्तो जाडोमा केही थाङ्नाहरूको भरमा उनी कसरी त्यहाँ रहेकी छिन् भन्ने सम्झेर म त्यहाँ केही सेकेन्ड रोकिएँ । मलाई रोकिएको देखेर उनले झुराझुरा भएको ओड्नेबाट काम्दै हात निकाली मुसुक्क हाँसेर केही पैसा सहयोग गरिदिन अनुरोध गरिन् । म उनको अवस्था देखेर ज्यादै भावविभोर भएँ किनकि ती पनि मेरै देशकी नागरिक थिइन् । मैले तपाईंलाई कति पैसा चाहियो भनेर सोधेँ । उनले भनिन्, जति दिए पनि हुन्छ । उनको भनाइमा कुनै छलकपट थिएन । फेरि मैले सोधेँ- तपाईं जति माग्नुहुन्छ म त्यति दिन्छु । मेरो उद्देश्य थियो कमसेकम आजको दिन उनी भोको नरहून् । उनले अन्तमा भनिन्, ‘पाँच रुपैयाँ’ । मसँग पचास रुपैयाँको एउटा नोट पनि थियो, त्यो दिँदै भनेँ- तपाईंलाई पचास रुपैयाँ भयो भने आज खाना पुग्छ ? उनी केवल मुसुक्क हाँसिन्, केही बोलिनन् । मैले पचास रुपैयाँ दिएँ र थप केही गरम कपडाहरू पनि पठाइदिने मनमनै निर्णय गरँे ।
त्यस बाटोमा अनगिन्ती मानिस गाडीको नजिकै आवत-जावत गर्दै थिए । मैले नियालेर हेरेँ- वास्तवमै ती यही देशकी अर्की नागरिकप्रति कसैको चासो थिएन । सबै आफू, आफ्नो परिवार, आफ्नो व्यवसाय र आफ्नै समस्याका लागि मात्र कुदिरहेझैं लाग्थ्यो । मलाई आफैंप्रति पनि दया लाग्थ्यो किनकि त्यो बाटोमा म पनि गाडीभित्र रहेर सयौँचोटि आवतजावत गरिसकेको थिएँ, तर पनि मेरो नजर त्यो किनारमा रहेको एक बेसहारा दीनदुःखी ती नेपालीप्रति कहिल्यै परेको रहेनछ । पारिपट्ट िहिन्दू राज्यको माग गर्दै केन्द्रीय कार्यालय पनि थियो तर सायद त्यो कार्यालयको आँखा पनि गएका राजाको भलाइका लागि मात्र बढी केन्द्रित भएझैं लाग्थ्यो । नत्रभने साँच्चिकै हिन्दू धर्मावलम्बीहरूले त त्यति नजिकै रहेको गरिब र असहाय आत्माको हितका लागि त केही काम गर्नुपर्ने नै थियो होला ।
केहीबेर टुक्रुक्क बसेर मैले उनको जीवन अझै नियालेर हेरेँ । एउटा माउ र चारवटा कुकुरका ससाना छाउरा पनि त्यहीँ थिए । ती महिलाले सबै कुकुर र छाउराहरूलाई त्यस्तो अवस्थामा पनि आश्रय दिएकी थिइन् । उनको नजिकै ढुङ्गाको चुलोमा आगो बलिरहेको थियो र थोत्रो सिलवरको फाटेको डेक्चीमा केही झोल पाक्दै थियो । त्यो के हो मैले बुझिनँ । हरेक केही सेकेन्डभित्र उनी औंलाले शरीरका विभिन्न भागमा कनाइरहन्थिन् । सायद मयल र जुम्राका कारण हुन सक्थ्यो । मलाई अचम्म लाग्यो । त्यस्तो अवस्थामा पनि उनी मसँग हाँसी-हाँसी कुरो गरिरहेकी थिइन् ।
यत्तिकैमा पुलिसको गाडीको पौ-पौ गर्ने आवाज आयो । लामबद्ध गाडीबीच कुनै आफूलाई भीआईपी कहलाउने व्यक्ति आएका रहेछन् । ती महिलाभन्दा अगाडिबाट त्यो गाडी साइरन बजाउँदै हुइँकियो । मैले सोचेँ-, त्यो गाडीभित्रका देश हाँक्न तम्सने नेतालाई सायद थाहा होला कि एक नेपाली चेली यो चिसोमा यस अवस्थामा रहेकी छिन् भनेर । संविधान बनाउन गएका नेताहरूलाई पाँच वर्षसम्म त म संविधान बनाउँदै थिएँ नि भनेर त्यो समस्याबाट उम्कने ठाउँ छ नै । प्रधानमन्त्री र मन्त्रीहरूलाई ‘ट्रान्जिसन पिरिएड’ भन्दै यस्ता काममा ध्यान दिने समय नपाएको तर्क दिने ठाउँ छ नै । महिलाहरूको कल्याण गर्न गएका भनिएकाहरूलाई नेतृत्वमा तेत्तीस प्रतिशत आरक्षण हुनुपर्छ र मन्त्री वा प्रधानमन्त्रीमा महिलाको सहभागिता हुनुपर्छ भन्ने काममै फुर्सद नभएझैं लाग्छ । समाजकल्याण मन्त्रालयलाई बजेट भएन भन्दे भइहाल्यो । प्रशासन कार्यालयलाई कसैले उजुरी वा जानकारी दिएनन् भनेर पन्छने ठाउँ छँदै छ । मैले सोचेँ- यी महिलाको अब केही दिनभित्रै मृत्यु हुनसक्छ । उनको सुन्निएको अनुहारले गम्भीर रोगको लक्षण पनि देखाइरहेको थियो । मलाई लाग्यो- कमसेकम एक नेपाली नागरिकले अर्को नेपाली नागरिक बचाउन उनलाई सहयोग गर्न सक्ने र दुईछाक खाना खुवाएर बाँच्ने अधिकारसम्म दिलाउन सक्ने राज्य वा सामाजिक संस्थासमक्ष उनको दुःख पुर्‍याउनुपर्छ ।
मलाई सानो कामले बाँसबारी पुग्नु थियो । म उनकै बारेमा सोच्दासोच्दै तलतिर लागेँ । केहीबेरपछि पुनः त्यही बाटो फर्किएँ । फर्किंदा त्यहाँ अर्को झुत्रेझामे्र लोग्नेमानिस पनि देखेँ जो आगो फुक्दै थियो । त्यो देख्दा मलाई खुसी लाग्यो । मनमनै सोचेँ- कोही अर्को नेपाली त रहेछ जोसँग यी गरिबले मनका कुरा साट्न पाउलिन् ।
म त्यो दृश्य देख्दा केही क्षण भावविभोर भएँ । उनलाई सहयोग गर्ने अठोट पनि गरेँ । घर फर्किएर श्रीमतीलाई उनको बारेमा बताएँ पनि । श्रीमती र म गएर गरम लुगा र खानेकुरा दिने पनि कुरा भयो । भोलिपल्टको सूर्योदयसँगै हाम्रो जीवनमा आ-आफ्नै दैनिक कामहरू आए । हामी दुवैले आफ्ना कामहरूबीच ती असहाय नेपाली महिलाका परिवार केही क्षणमै बिर्सिएछौँ । त्यो घटना घटेको भोलिपल्टै करिब तीनचोटि म आफैं गाडी हाँकेर उनको अगाडिबाट आउने-जाने गरेँछु तर कुनैपटक पनि मलाई उनको यादसम्म पनि आएन । यस्तो लाग्थ्यो मानौँ मैले उनलाई भेटेकै थिइनँ, देखेकै थिइनँ ।
आज यो लेख लेख्दा बाहिर निकै चिसो छ । म घरमा हिटर राखेर गुटुमुटु भएर अर्को हप्ताका लागि घटना र विचारको स्तम्भ लेख्ने विषय खोज्दै थिएँ । मेरो मानसपटलमा मुसुक्क हाँसेर तिनै महिला आइन् । फुटेका उनका गाला, वरिपरिका कुकुरका छाउरा, छिन्छिन्मा शरीर कन्याउने आदत र भुलुक्क-भुलुक्क उम्लिरहेको च्यातिएका सिलवरका डेक्चीबीच चिसो कुइरोभित्र खुला स्थानमा आकाशमुनि बसेकी ती मैरे देशकी नेपाली चेली जसका अगाडिबाट आफूलाई नेता र मन्त्रीहरू दिनदिनै पुलिसका गाडीलाई साइरन बजाउन लगाई आफूलाई गरिब नेपालीको देवता भएझैं गरी हिँड्ने गर्छन् । मैले सोचेँ- यी दुईको सम्बन्ध कति मार्मिक छ ? योभन्दा ठूलो विषय मेरा लागि लेख्ने अरू के हुन सक्ला र –
म डाक्टर होइन तर मलाई किनकिन लागिरहेछ तिनले त्यो स्थानमा सायद यो जाडो काट्ने छैनन् । आखिर शरीर त हो त्यो खुला आकाशमुनि यस्तो जाडोमा त्यो शरीरले आफूलाई कति नै सुरक्षित राख्न सक्ला र ? उनको सुन्निएको अनुहारको रहस्य पत्ता लगाएर औषधिमूलो गरिदिने व्यक्ति पनि उनले सायद भेट्लिन् । कुकुरका छाउराबीच कट्टकटिएको मयल र धुलाम्मे तथा जुम्रैजुम्राले ढाकिएको उनको शरीरलाई स्वीकार गरी घरमा लगेर राख्न पनि ज्यादै ठूलो हिम्मत चाहिन्छ । त्यो हिम्मत भएको अर्को नेपाली पनि सायदै उनले यो जन्ममा पाउलिन् । थाङ्ना, बोरा र साना छेस्का आगोले उनलाई यसपालिको हिउँदमा जोगाउन सक्छ या सक्दैन ? यो विषय मेरा लागि कुतूहल बनेको छ ।
म पनि एक नेपाली हुँ । मैले जे गर्न सक्छु जेसम्म गर्ने मेरो हैसियत छ वा हिम्मत छ उनको भलाइका लागि त्यतिसम्म गरिदिने मैले प्रण गरेँ । यो लेख लेख्दालेख्दै मेरो विचारमा उनलाई सहयोग गर्ने थुपै्र योजना आइरहेका छन् । सबैभन्दा पहिले म उनलाई जाडोबाट जोगाउन ओड्ने र लगाउने कपडा दिन्छु, केही खानेकुरा दिन्छु, उपचारका लागि सहयोग गर्छु । आउँदाजाँदा भएको बेला केही पैसा छोड्छु । म उनलाई घरमा ल्याएर राख्न सक्दिनँ । मेरा पनि केही बाध्यता छन् वा म पनि धेरै ठाउँमा कायर पनि छु वा स्वार्थी पनि । तर पनि म त्यो मेरो स्वार्थ, कायरता र बाध्यताबीच पनि यो जाडोयाममा उनको प्राणसम्म रक्षा गर्ने पहल गर्दै छु । आज यी बाँसबारीको बाँसघारीनजिक बस प्रतीक्षालयमा जाडो काटिरहेकी महिलाझैं कति असहाय नेपाली दाजुभाइ, दिदीबहिनी यस्तै अवस्थामा देशका विभिन्न ठाउँमा फुटपाथ, मन्दिर वा रूखमुनि बसिरहेका होलान् । तिनका लागि सरकार छ भन्नु पनि झुटो आश्वासन मात्र होला । उनीहरूले अझै लामो बाँचेर पनि यो जन्ममा सायद सुखी जीवन पाउलान् तर पनि हामी नेपाली दाजुभाइ दिदीबहिनीको कर्तव्य हुन्छ, तिनलाई कम से कम यो जाडोमा बचाउँm । फेरि झरी-हुरीमा कसरी बचाउने पछि सोचौँला । आखिर मानिसका लागि मानिस नै त काम लाग्छन् ।