हत्या गरेको १५ वर्षपछि आरोपी बहराइनबाट पक्राउ

हत्या गरेको १५ वर्षपछि आरोपी बहराइनबाट पक्राउ


नेपाल प्रहरीले घटना भएको १५ वर्षपछि एक जना हत्याका आरोपीलाई बहराइनबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्की लेखनाथ सातमुहाने ठेगाना भएका ४६ वर्षीय अशोक गुरूङ छन् ।

कास्की जिल्लाको लेखनाथमा मजदुरी काम गरी बस्ने सुनसरी धरान घर भएका २० वर्षीय रोजन राईको हत्या भएको घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

२०६३ बैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका रोजन राईको उपचारको क्रममा २०६३ जेठ २ गते मृत्यु भएको थियो ।

घटनामा संलग्न अशोक गुरुङ घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा बहराइन गएका थिए । त्यसपछि उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा २०७८ मंसिर २७ गते इन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएको थियो ।

उनलाई बहराइनमा पक्राउ गरिएको हो । उनलाई सम्बन्धित कसूरमा कारवाही गर्ने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले मंगलबार नेपाल ल्याएको हो ।

गुरूङलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइने इन्टरपोल उक्त शाखाले जनाएको छ ।