मधेसका पिछडिएका परिवारलाई चुल्होसहित ग्यास सिलिण्डर सहयोग

मधेसका पिछडिएका परिवारलाई चुल्होसहित ग्यास सिलिण्डर सहयोग


मधेस प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई भारत सरकारको आर्थिक सहयोगमा एलपी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री उपलब्ध हुने भएको छ ।

यसका लागि भारतीय राजदूतावास, काठमाडौं र नेपाल-भारत महिला मैत्री समाजबीच अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत-नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार भारत सरकारको २ करोड ४ लाख ९० हजार अनुदान सहयोगमा मधेस प्रदेशका तीन जिल्लामा तीन हजार वटा एलपी ग्यास चुल्हो, ग्यास सिलिण्डरलगायतका सामग्री नेपाल-भारत महिला मैत्री समाजमार्फत उपलब्ध गराइने छ ।

यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघिसारेको ‘India@75 आजादीका अर्मत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको एक भएको बताइएको छ । दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण क्षेत्रका घरपरिवारसम्म एल.पी ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच विस्तार गर्नका लागि भारत सरकारले ल्याएको ‘प्रधानमन्त्री उज्ज्वला योजना’ बाट यो योजना प्रेरित रहेको दूतावासले जनाएको छ ।

सन् २००३ यता भारतले नेपालमा स्वास्थ्य, शिक्षा, खानेपानी तथा सिँचाइ, विद्युतीकरण आदिका क्षेत्रमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ जसमध्ये ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये सर्लाहीका १९, रौतहटका ५ र सप्तरीका ९ गरी मधेस प्रदेशमा ८१ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले यी तीन जिल्लामा हालसम्म ८७ वटा एम्बुलेन्स र तीनवटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ । यस योजनाको कार्यान्वयनले जनताको जीवनस्तरलाई उकास्न नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले गर्दै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको सम्बद्ध पक्षको भनाइ छ ।