एनआरएनए अध्यक्षमा डा.केसीको उम्मेद्‍वारी

एनआरएनए अध्यक्षमा डा.केसीको उम्मेद्‍वारी


गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्षमा पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

उनले गैरआवासीय नेपाली संघको यही मार्च २१ र २२ मा हुने १०औँ महाधिवेशनका लागि बुधवार उम्मेदवारी दर्ता गरेका हुन् ।

उनले गैरआवासीय नेपाली संघको स्थापना कालदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा आफू सिनियर भएकाले अध्यक्षमा उम्मेदवारी दिएको बताए । डा. केसीले संस्थागत शुद्धीकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा लगानी, विज्ञान प्रविधि, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिए भएर काम गर्ने प्रतिबद्धता जनाए ।

२००३ देखि एनआरएन अभियानमा होमिएका डा. केसी २००७ सम्म आइसिसी रुसको साधारण सदस्य रहेका थिए । त्यसपछि २००७ देखि ००९ सम्म आइसिसी रुसको महासचिव भएर काम गरेका उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) प्रवेश गरे । २००९–२०११, २०११–२०१३ गरी दुई कार्यकाल आइसिसी सदस्य रहेका उनी २०१३–२०१५ मा भने कोषाध्यक्ष चयन भए ।

त्यसपछि २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव र २०१९–२०२१ मा उपाध्यक्ष रहेका उनले अहिले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । बायो टेक्नोलोजीमा मस्कोबाट २००१ मा पिएचडी गरेका उनको रसिया र नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय र लगानी रहेको छ ।