लण्डन । यही महिनाको १३ र १४ तारिख क्रमशः रिडिङ्ग र ह्यारोमा भारतीय जीटीभीको रियालिटी सो डान्स इण्डिया डान्सकी टाइटल जित्न सफल रहेकी तेरिया फोन्जा मगरको मनमोहम नृत्यहरुसहित चर्चित लोक गायक मिलन लामा र चर्चित पप गायक हेमन्त रानाका गायनहरुको प्रस्तुति रहने दशैं मेगा इभेन्टको बारेमा फार्नबोरोहस्थित बीजीडब्लूएसको भवनमा हिजो पत्रकारहरुको भेला गरिएको थियो । सोको बारेमा विस्तृतमा जानकारी दिनको लागि तयार पारिएको उक्त अवसरलाई सम्वोद्धन गर्दै आयोजकहरुको तर्फबाट मूछेन्द्र गुरुङ्गले संक्षिप्तमा मेगा इभेन्टको बारेमा बताएपछि पत्रकारहरुलाई प्रश्नहरु सोध्न भनिएको थियो ।
सन् २०१४मा जीटीभीद्वारा सञ्चालित डान्स इण्डिया डान्समा नेपालको पश्चिमाञ्चल क्षेत्रबाट भाग लिन गएकी तेरिया मगरले टाइटल जित्न सफल भएकी थिईन् । आफ्नो नृत्यमा कौशलताका साथ प्रस्तुति दिने तेरियाको सो जीत, एक प्रकारले नेपालकै जीत भएको मान्नेहरु सर्वत्र सामाजिक सञ्जालहरुमा देखिएका थिए । तेरियालाई जिताउनका लागि एक ठूलो परिमाणमा नेपालमा अभियान नै सञ्चालित थियो । तेरियाको जीतको लगत्तै उनी नेपाल ल्याएकिथिईन् जसले अभूतपूर्व माया अनि स्वागत पाएकिथिईन् । नेपालमा गरिएका कतिपय कार्यक्रमहरुमा उपस्थित हुनेबाहेक अनुवन्धमा बाँधिएकी तेरियाले आफ्नो नृत्यको कला कति ठाउँमा प्रस्तुत गरेकी थिईनन् र पत्रकारहरुको सोही जिज्ञाशालाई शान्त पार्दै आयोजकले बेलायती दर्शकहरुलाई ढुक्क रहन भनेका थिए ।
मूछेन्द्र गुरुङ्ग, कमल गुरुङ्ग, गणेश गुरुङ्ग, नवीन गुरुङ्ग र मिलन गुरुङ्गको सो संयु्क्त रुपको आयोजक टोलीले तेरियाको लागिउनको एक सो जसमा उनको पाँचवटा नृत्यहरुको प्रदर्शनी रहने छ लाई भारतीय रुपैंया तीन लाख पन्ध्र हजार बुझाएका छन्, त्यसैले नेपालका केही स्थानहरुमा तेरियाबाट नगरिएको प्रदर्शनीजस्तो बेलायतमा नहुने आयोजकको भनाइ रहेको हो । बेलायतको दुई स्थानहरुमा प्रदर्शन हुने दशैं मेगा इभेन्ट नामको कार्यक्रमबाट उठेको मुनाफाको १० प्रतिशत, बराबर रुपमा नेपालको पश्चिम क्षेत्रमा रहेको धुम्पुस स्कूलको लागि मेजर खुशीमान गुरुङ्गलाई हस्तान्तरण गरिने र नेपालमा हालै बाढी पहिरोबाट पीडित भएका परिवारहरुलाई सीधा राहत दिन सकिने किसिमले माध्यमको चयन गरेर रकम हस्तान्रतण गरिने अनि सोबारे पत्रकारहरुलाई जानकारी दिने पनि सोही जानकारी कार्यक्रममा बताइएको छ ।
मिलन लामा अनि हेमन्त रानाहरुको माग अझै पनि खासगरी बेलायती नेपाली समाजमा व्यापक रुपमा भएको अनि तेरियाको क्रेज अत्यन्तै ठूलो भएकोले आयोजकहरुले मुनाफा राम्रै हुनेमा विश्वस्त छन् । रिडिङ्गस्थित लैजर सेन्टरमा १५०० सिट क्षमता र ह्यारोस्थित लैजर सेन्टरमा १२०० सिट क्षमता गरी जम्मा २७००० सिट क्षमतामा सोही संख्याका दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिने हुँदा कार्यक्रममा हुने प्रदर्शनीहरुका ज्यादा माग रहन गई आम समाजमा ज्यादा चासो बढ्ने र त्यसले आम्दानीमा सघाई कार्यक्रमलाई स्तरीय बनाउनेमा पनि आयोजकहरु विश्वस्त भएको बताइएको छ । साँझको ७ बजे शुरु हुने सो कार्यक्रममा टिकट दर साधारण २० पाउण्ड र भीआईपी ३० पाउण्ड राखिएको छ ।
साउण्ड सिस्टमहरुमा विशेष ध्यान दिईने, समय रहेको अवस्थामा कार्यक्रमहरुमा स्थानीय प्रतिभाहरुको पनि आइटम राखिने खुलासा आयोजकका तर्फबाट मूछेन्द्र गुरुङ्गले बताएका छन्, उनले उसै दौरानमा….तेरिया जब डान्स इण्डिया डान्सको फाइनलमा पुगेकी थिईन्, त्यतिखेरै तेरियालाई यूकेमा ल्याउनका लागि योजना बनाइसकेको जानकारी पनि दिएका थिए ।
प्रतिक्रिया