तनहुँमा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार दिउँसो पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा यात्रुबाहक बस र टाटासुमो एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
चितवनबाट पोखरातर्फ गइरहेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट आएको ग ३ च ६०१२ नम्बरको टाटासुमो ठक्कर खाँदा १३ जना घाइते भएका थिए । टाटासुमोमा सवार नौ जना र बसमा सवार चार जना घाईइते भएका हुन् ।
तिमध्ये टाटासुमोमा सवार नौ जना घाइतेलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडकिल कलेज रिफर गरिएकोमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताएका छन् । दुर्घटनामा मृत्यु भएकामध्ये एक जनाको मात्र पहिचान खुलेको उनले बताए ।
मृतकमध्ये शुक्लागण्डकी नगरपालिका-८ का ७३ वर्षीय रुद्रबहादुर सेन ठकुरीको मात्र पहिचान खुलेको उनले बताए । अन्दाजी ३० वर्षीया महिला र ५० वर्षीय पुरुषको पहिचान खुल्न नसकेको उनले बताए ।
टाटासुमो बससँग ठक्कर खाएर सडकबाट अन्दाजी पाँच मिटर तल खसेको थियो । बसमा सवार घाइते चार जनाको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । उनीहरुको अवस्था सामान्य छ । बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया