file photo
‘शेरबहादुर देउवाको आँगनमा माछा’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अर्थतन्त्रलाई बेहाल अवस्थामा पुर्याएको आरोप लगाएका छन् । आइतबार एमाले उद्योग विभागले आयोजना गरेको उद्योगी व्यवसायीहरुसँगको छलफलमा सरकारले उत्पानदनमा जोड दिनुको सट्टा थर्काएर हैरानी पार्ने काम गरेको ओलीले आरोप लगाए ।
‘ब्ल्याकमेल गरेजस्तो थर्काएर, ताला लगाएर, छापा लगाएर, कसरी हैरानी पार्न सकिन्छ, कसरी थर्काउन सकिन्छ भन्ने खालका प्रकृतिका कामहरु भइरहेका छन्’ उनले भने, ‘पहिला बाहिर बसेर गर्थे अहिले राज्यमा बसेर त्यही कुरा फरक ढंगमा गर्न खोजिरहेका छन्, यो अर्थतन्त्रका लागि गम्भीर र नकारात्मक हो।’
अर्थतन्त्रका चार वटा क्षेत्र प्रभावित भएको ओलीको भनाइ थियो । आफ्नो सरकारले उत्पादन र उत्पादकत्व वृद्धिको लक्ष्य लिएको दाबी गर्दै उनले आयात प्रतिस्थापन गर्न सकिन्छ भन्ने रहेको भए पनि अहिलेको सरकारले बेवास्ता गरेको आरोप लगाए ।
उनले आफूले सडेगलेका चिज किन खानु पऱ्यो भनेर नेपालमा त्यसलाई बन्द गरेको भए पनि कमिशनको खेलले फेरि खुलेको टिप्पणीसमेत गरे ।
‘त्यसलाई बन्द पनि गरेको थिएँ, कतिपयलाई घाटा पनि लाग्यो होला’, उनले भने- ‘एक जनाको व्यापार सपार्नका लागि राष्ट्रिय अर्थतन्त्रलाई प्रभाव नपारौँ ।’
‘शेरबहादुर देउवाको आँगनमा माछा पऱ्यो’
यस्तै, अध्यक्ष ओलीले शेरबहादुर देउवाको आँगनमा माछा परेको टिप्पणी गरेका छन् । उद्योगी/व्यवसायीहरुसँगको छलफलमा उनले देउवाको आँगनमा पानी नपरेको बेलामा माछा परेको टिप्पणी गरेका हुन् ।
प्रतिनिधिसभामा कम सिट भए पनि गठबन्धनका कारण देउवाले प्रधानमन्त्री पद पाएकोतर्फ लक्षित गर्दै ओलीले समुन्द्र र पोखरी छेउवा नभए पनि देउवाको आँगनमा माछो परेको टिप्पणी गरेका हुन् ।
‘देउवाजीको आँगनमा माछो पऱ्यो बादल लागेको बेलामा । न समुद्र न पोखरी, न खोला माछा पर्छ कहिलेकाहीँ तपाईंहरुले देख्नुभएको छ कि छैन मैले देखेको छु’ उनले भने, ‘त्यही भएर उहाँलाई केही चिन्ता छैन, माछो ल्याएर घैलामा राख्नुभएको छ ।’
अदालतको परमादेशका कारण आफू सत्ताबाट हट्नु परेको बताउँदै आएका ओलीले भने, ‘परमादेशबाट पारिदिएको माछाको चिन्ता छ त्यसकारण उहाँलाई देशको चिन्ता छैन ।’ त्यही भएर देउवाले देशको अर्थतन्त्रमा ध्यान नदिएको उनको आरोप थियो ।
प्रतिक्रिया