जलमार्ग हुँदै ल्याइएको ४ सय केजी गाँजा बरामद

जलमार्ग हुँदै ल्याइएको ४ सय केजी गाँजा बरामद


सप्तकोशीमा बाँसको चेफामार्फत् ल्याउँदै गरेको ४ सय किलोग्राम अबैध गाँजा उदयपुरमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तकोशीमा बाँसको चेफामाथि राखेर ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको सशस्त्रले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प रामपुरठोक्सिलाले सप्तकोशीस्थित बाँसको चेफामा बगिरहेको अवस्थामा ४ सय किलोग्राम गाँजा फेला पारेका हुन् ।

उदयपुर, खोटाङ, भोजपुर र धनकुटा क्षेत्रबाट दैनिकजसो बाँसचेफा ढुवानी हुने सप्तकोशीमा अबैध गाँजासमेत ओसारपसार हुने गरेको छ । आइतबार बिहान २ बजेतिर सप्तकोशीमा बिस्तारै बग्दै आएको बाँसको चेफामा बेवारिसे अवस्थामा गाँजा फेला पारेको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प रामपुरठोक्सिलाका सशस्त्र प्रहरी निरिक्षक सुमन बुढाथोकीले जानकारी दिए ।

गाँजा पहाडी जिल्ला भोजपुरबाट ल्याएको हुन सक्ने अनुमान गरिएको छ । गाँजा मात्र फेला परेको र मान्छेहरु पत्ता नलागेको हुँदा खोजी कार्य र निगरानी गर्ने काम भइरहेको सशस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति कृष्णराज अधिकारीले जानकारी दिए । सशस्त्र प्रहरी निरीक्षक बुढाथोकीको टोलीले फेला पारेको गाँजा गणमा ल्याइ जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बुझाइने बताए । गाँजा ओसारपसारमा संलग्न ब्यक्तिहरुको पहिचान नभए पनि खोजी जारी रहेको गणपति अधिकारीको भनाइ छ ।