जनआकाङ्क्षा साकार पार्ने जनता प्रगतिशील पार्टीको प्रतिबद्धता

जनआकाङ्क्षा साकार पार्ने जनता प्रगतिशील पार्टीको प्रतिबद्धता


  • आरपी उपाध्याय, नवलपरासी

नवगठित ‘जनता प्रगतिशील पार्टी नेपाल’का केन्द्रीय अध्यक्ष हृदयश त्रिपाठीले किसानहरूको अवस्था सुदृढ नहुँदासम्म देशको विकास नहुने बताउनुभएको छ । जनता प्रगतिशील पार्टी पश्चिम नवलपरासीको आयोजनामा प्रतापपुरको बेलाटारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै त्रिपाठीले सो धारणा राख्नुभएको हो ।

अध्यक्ष त्रिपाठीले हालै दल दर्ता गरी घोषणा गरिएको पार्टी भए पनि आगामी दिनमा ठुलो शक्तिको रूपमा स्थापित हुने जिकिर गर्दै यस पार्टीको पछाडि दिग्गज राजनेताहरूका साथै सेवानिवृत्त उच्चपदस्थ राष्ट्रसेवकहरू समेत रहेकाले जनताको आशा–आकांक्षा पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा पार्टीका उपाध्यक्ष फरहन एकबाल अहमद, महासचिव इश्वर दयाल मिश्र, केन्द्रीय सदस्य श्रवण कुमार उपाध्याय, श्यामकृष्ण अधिकारी, गिरिजा देवी हरिजन, हरिप्रसाद पाण्डेलगायतले जनसभालाई सम्बोधन गर्नुभएको थियो ।

जनता प्रगतिशील पार्टीका क्षेत्रिय संयोजक रामप्रित यादवको अध्यक्षतामा आयोजित जनसभामा मन्तव्य दिने वक्ताहरूले मधेशमा रहेको समस्या समाधान गर्न आफूहरू क्रियाशील रहेको र रहिरहने प्रतिबद्धता जनाए ।

पहिचान, सङ्घीयता, लोकतान्त्रिक समाजवाद भन्ने मूल नाराका साथ घोषणा गरिएको जनता प्रगतिशील पार्टीमा स्वतन्त्र राजनीतिक समुूहका अधिकांश जिल्ला र पालिका स्तरका नेता-कार्यकर्ता तथा सर्वसाधारण नागरिकको सहभागिता रहेको थियो भने उक्त अवसरमा नागरिकताविहीन सङ्घर्ष समितिका संयोजक काशिन अंसारीद्वारा ज्ञापनपत्र प्रस्तुत गरिएको थियो ।