प्रकाश सपुतलाई दिनुपर्ने गाली कि ताली… ?

प्रकाश सपुतलाई दिनुपर्ने गाली कि ताली… ?


  • राजन घिमिरे

यतिबेला निकै चर्चामा रहेका गायक प्रकाश सपुत र उनको म्यूजिक भिडियो ‘पिर’ सबै क्षेत्र, वर्ग वा तह–तप्कामा विशेष चासोको विषय बनेको छ । त्यसो त नेपाली गायन विधाको सुरुवातमै प्रकाशले प्रकाशमय रूपले नेपाली लोकगायकहरूको भिडमा विशेष क्षमता र प्रतिभाका कारण त्यसैअनुसारको उचाइ बनाएका थिए । उनको सुरुवाती छलाङ देख्दा स्वतः लाग्दथ्यो कि यिनमा अरुमा भन्दा विशेष क्षमता छ । आशानुरुपकै सुकर्म प्रदर्शन गरे सपुतले, गरिरहेका छन् । पछ्यौरी च्यातियो…देखि अहिलेको पिर…सम्म आँउदा उनको साख, चर्चा र कामको उचाइमा कहिल्यै बादल लागेन । कुनै समय लोकगायक वा गायिकाको नामैलिँदा पनि नाक खुम्चाउने जमातलाई पनि प्रकाशले यस विधातर्फ आकर्षित गर्न जुन भूमिका खेलेका छन्– यसको तारिफ गर्न भारी शब्दहरू नै खर्च गर्नुपर्छ ।

स्वभावले प्रकाश जति मिजासिला, भद्र र शालिन छन्, आफ्नो सृजनाप्रति त्यत्ति नै सजग, संवेदनशील र सचेत देखिन्छन् । यसकारणले पनि हो कि उनलाई आज पिरले ‘सम्मानजनक’ चर्चामा ल्याएको छ । उनको वाहीवाही भएको गीत र भिडियो पिरलाई गाली गर्ने भन्दा माया र सम्मान गर्ने अनि प्रकाशलाई ढाडस दिनेहरूको जमात बढी छ । एउटा लोकगायकको समर्थनमा उर्लिएको यत्रो जमात सम्भवतः लोकगायन क्षेत्रले नै पहिले पटक पाएको हो ।

गीतसंगीत मनोरंजको साधन मात्र नभइ यसले देश, समाज र भुगोल बोल्नुपर्छ भनेर भाषण गर्नेहरूलाई प्रश्न छ कि एक कालखण्डको सजीव चित्रलाई प्रकाशले गीत–सङ्गीतमा उतार्दा के गल्ती गरे ? समाजको यथार्थपरक यस मार्मिक सिर्जनाको विरोधमा यस्तो जङ्गली रवैया किन ?

सत्तामा पुगेपछि फाइदा लिनेहरूले आफूलाई त्यो स्थानमा प¥याउनेलाई बिर्सेपछि ती गुमनाम पात्रहरूको प्रतिनिधित्व हुने पीडा अनि ब्यथालाई प्रकाशले भिडियोमा उतारेका छन् । उनले उतारेका दृश्य कलात्मक भए पनि काल्पनिक भने होइनन् र, भिडियोमा उपस्थिति जनाएका लडाकुहरू स्वयंले नै आफ्नो वास्तबिता सार्वजनिक रूपमा बताइरहेको अवस्थामा जनयुद्धको समयमा केवल पढेर, सुनेर र हेरेर मात्र बसेकाहरू नै अहिले प्रकाश सपुतको पिरको बारेमा उखर्माउलो गर्न थालेपछि वास्तबिक लडाकु र सपुतको भिडियो अनि गीत–संगीतलाई आत्मसात गर्नेहरू तीनछक्क परेका छन् ।

‘प्रकाशले माओवादी जनयुद्धकै बदनाम गर्न खोज्यो’ भन्दै चर्काो आवाज उराल्ने पक्षले यो कुरा बुझ्नुपर्छ कि प्रकाशको यो गीत आउनुभन्दा अगाडि पनि हाई–हाई नै थियो । नेपाली लोकगीतको इतिहासमा नै सर्वाधिक हेरिएको र सुनिएको ‘पछ्यौरी च्यातियो..’ गीतका सर्जक यिनै हुन् ।

स्पष्ट छ कि नाम र चर्चाको लागि प्रकाशले कहिले बाङ्गोटिङ्गो बाटो अवलम्बन गर्नुपरेन, न त दुई दिन हिट भएर पछि हराउने गीत नै सिर्जना गरे यिनले । प्रकाशले आज नेपाली लोक–संगीतलाई यसरी नयाँ आयाम दिँदै यसरी फैलाएका छन् कि त्यसमा उनको सुझबुझ, योगदान र निरन्तरतालाई कम आँकलन गर्न मिल्दैन ।

लडाकुहरूको पीडा, रोदन र ब्यथालाई नजिकबाट देखेका मात्र होइन कि छोएका पनि छन् प्रकाशले । त्यसैले त उनले भनेका छन्– ‘मेरो सिर्जना कुनै दल, व्यक्ति वा समुहको खिल्ली उडाउँनका लागि होइन, । मैले देखेका, भएका र भोगेका कुरालाई भिडियोमा उतारेका छु । यसलाई सकारात्मक रुपमा हेरिदिनुहुन अनुरोध गर्दछु ।’

एक समय थियो, लोकगीत विधामा लागेकाहरूलाई हेयको व्यवहार गरिन्थ्यो । त्यस्ता गीत गाउने, सुन्ने अनि सृजना गर्ने सर्जकप्रति हेर्ने नजर अन्य गीत–सङ्गीतकर्मीको भन्दा फरक हुन्थ्यो । तर आज यो विधाले पहिलेको जस्तो दूरावस्था झेल्नु पर्दैन । नेपाली लोकगीत–संगीत विधाप्रति उच्च सम्मान र आस्था प्रकाश सपुत जस्ता श्रष्टाहरूकै कारण बढ्न थालेको नजरअन्दाज गर्न हुँदैन ।