सोलुखुम्बुमा भारत सरकारको अनुदान सहयोगमा खानेपानी परियोजना सम्पन्न

सोलुखुम्बुमा भारत सरकारको अनुदान सहयोगमा खानेपानी परियोजना सम्पन्न



भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा निर्माण गरिएको खानेपानी आपूर्ति परियोजनाको उद्घाटन गरिएको छ । राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव प्रियादर्शिनी आरले सोमबार परियोजनाको संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा सोलुखुम्बु जिल्ला समन्वय समिति, खुम्बु पासाङल्हामु गाउँपालिका र खानेपानी उपभोक्ता तथा व्यवस्थापन समितिका अधिकारीलगायत स्थानीय सरकारका प्रतिनिधिहरूको उपस्थिति थियो ।

यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘India@75 आजादीका अमृत महोत्सव’ अन्तगर्त यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्येको एक रहेको बताइएको छ ।

बताइएअनुसार ‘भारत-नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको ४ करोड २३ लाख ९० हजार अनुदान सहयोगमा उक्त परियोजनामा निर्माण गरिएको हो । यस परियोजनाले खुमजुङ र कुण्डे क्षेत्रका ६०० घरपरिवार तथा विद्यालय लगायत अस्पताल, सरकारी कार्यालय र पर्यटकका लागि सफा तथा स्वच्छ खानेपानी उपलब्ध गराउने अपेक्षा लिइएको छ । परियोजनाले विशेषगरी उक्त क्षेत्रका बासिन्दालाई पानी भर्न टाढासम्म जानुपर्ने दैनिक झन्झटबाट मुक्त गरी उनीहरूको जीवनस्तर उकास्न मद्दत गर्नेछ ।

ज्ञातव्य छ, सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ, जसमध्ये ४६७ वटा सम्पन्न भइसकेका छन् । तीमध्ये सोलुखुम्बुका दुई गरी प्रदेश १ मा ७८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले सोलुखुम्बु जिल्लामा तीन वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरेको छ ।