साउदी अरबका राजकुमार काठमाडौंमा

साउदी अरबका राजकुमार काठमाडौंमा


साउदी अरेबियाका विदेशमन्त्री समेत रहेका राजकुमार फेसला बिन फरहान अल साउद नेपाल आइपुगेका छन् ।

२३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा मंगलबार साँझ राजकुमार फैसल काठमाडौं आइपुगेका हुन् ।

निजी विमान चढेर श्रीलङ्का हुँदै आइपुगेका राजकुमारलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र यहाँस्थित साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । मंगलबार परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भेटवार्ता गर्नेछन् । भेटवार्तापछि दुवै देशका परराष्टमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ ।

साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो । करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन् ।

साउदी अरब अधिराज्यका विदेशमन्त्रीद्वारा नेतृत्व गरिएको प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले मंगलबार नै दिवाभोज आयोजना गर्नेछन् भने राजकुमार फैसलको मंगलबार अपराह्न स्वदेश फर्कने कार्यक्रम छ ।